बंगलादेश : दुई विद्यार्थी सरकारमा सामेल हुनसक्ने, हसिनाका छोराले भने- ‘अवामी लिग अझै सकिएको छैन’

बंगलादेश : दुई विद्यार्थी सरकारमा सामेल हुनसक्ने, हसिनाका छोराले भने- ‘अवामी लिग अझै सकिएको छैन’

एजेन्सी : बंगलादेशमा आज अन्तरिम सरकार गठन हुँदैछ। १५ सदस्यीय सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले गर्नेछन्। युनुस ढाका पुगेपछि अन्तिम नामावली टुंगिनेछ।

उनीहरूबाहेक अन्तरिम सरकारमा को-को हुने भन्ने ठोस जानकारी सार्वजनिक भइसकेको छैन। तर, विभिन्न नामको सूचीलाई लिएर राजनीतिक क्षेत्रमा चर्चा भइरहेको छ।

बंगलादेशी अखबार प्रथम आलोले स्रोतलाई उद्धृत गर्दै विद्यार्थी आन्दोलनका नेताहरूले सरकारमा दुई प्रतिनिधि चाहेको उल्लेख गरेको छ। तर, ती दुईको नाम भने खुल्न सकेको छैन।

यसबाहेक राष्ट्रपति शाहबुद्दीनले पनि आफ्ना दुई जनालाई सरकारको हिस्सा बनाउन चाहेका छन्।

यसैबीच पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा वाजेद जोयले अवामी लिग समाप्त नभएको बताएका छन्। बुधबार एक भिडियो सन्देशमा जोयले अवामी लिगबिना लोकतन्त्र र निर्वाचन सम्भव नहुने बताए।

उनले नागरिक, अवामी लिगका कार्यकर्ता र अल्पसंख्यकमाथि आक्रमणको निन्दा गर्दै बंगबन्धुको परिवार बंगलादेशका जनताको साथमा रहेको बताए।

साउन २३, २०८१ बिहीबार १०:०६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।