इरानमा एकै दिन २९ जनालाई मृत्युदण्ड

इरानमा एकै दिन २९ जनालाई मृत्युदण्ड

काठमाडौं : इरानमा बुधबार २९ जनालाई मृत्युदण्डको सजाय दिइएको छ।

२६ जनालाई तेहरानबाहिरको गेजलहसार जेलमा र बाँकी तीन जनालाई काराज सहरको जेलमा झुण्ड्याइएको नर्वेको मानवअधिकार संगठनलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।

फाँसीमा झुण्ड्याइएकामध्ये दुई अफगान नागरिक हुन्। उनीहरूमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप थियो।

अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिष्ट न्यूज एजेन्सी र सेन्टर फर ह्युमन राइट्स इन इरानले पनि गेजलहसार जेलमा कम्तीमा दुई दर्जन व्यक्तिलाई मृत्युदण्ड दिइएको पुष्टि गरेको छ।

जनतामा डर पैदा गर्न २०२२ को सरकार विरोधी प्रदर्शनमा संलग्नहरूलाई मृत्युदण्डको सजाय दिएको आरोप इरानमाथि बारम्बार लाग्दै आएको छ।

इरानमा बढ्दो मृत्युदण्ड
सम्बन्धित मानवअधिकार संस्था आईएचआरका निर्देशक महमूद अमिरी मोगद्दमले यसतर्फ अन्तर्राष्ट्रिय समुदायले खासै ध्यान नदिएको बताए। जसकारण इरान सरकारले आगामी महिना सयौंलाई फाँसी दिन सक्ने समेत बताए।

उनले सन् २००९ पछि यति ठूलो संख्यामा मानिसलाई फाँसी दिएको यो पहिलो पटक भएको बताए। रिपोर्टका अनुसार यसअघि मंगलबार मानवअधिकार समूहहरूले इरानमा एक व्यक्तिलाई फाँसी दिएकोमा आलोचना गरेका थिए।

ती व्यक्तिलाई रिभोलुसनरी गार्डको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। उनलाई यातना दिएर स्वीकार गर्न बाध्य पारिएको मानव अधिकारवादी संस्थाहरूको भनाइ छ।

मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिको नाम गेलामरेजा रसाई हो। महसा अमिनीको मृत्युपछि इरानमा सुरु भएको विरोध प्रदर्शनमा संलग्नलाई फाँसी दिइएका उनी दशौं व्यक्ति हुन्।

१३ सेप्टेम्बर २०२२ मा कुर्द समुदायकी २२ वर्षीया महसा अमिनीको मृत्युपछि इरानमा प्रदर्शन भएको थियो। हिजाब नलगाएपछि उनलाई त्यहाँको सरकारले पक्राउ गरेको थियो। त्यसको तीन दिनपछि उनको मृत्यु भएको थियो।

एम्नेस्टीका अनुसार सन् २०२३ मा चीन, इरान, साउदी अरेबिया, सोमालिया र अमेरिकामा सबैभन्दा बढी मानिसलाई मृत्युदण्ड दिइएको थियो। जसमध्ये सबैभन्दा बढी इरानमा ८५३ जना र साउदी अरबमा १७२ जनालाई मृत्युदण्ड दिइएको थियो।

एम्नेस्टीले चीनमा सबैभन्दा बढी मानिसलाई मृत्युदण्ड दिइने दाबी गरेको छ तर यो सत्य प्रमाणित गर्ने कुनै तथ्याङ्क छैन।

मृत्युदण्ड खारेज गर्ने देशमा वृद्धि
बीबीसीको रिपोर्ट अनुसार सन् १९९१ मा मृत्युदण्डको व्यवस्था नभएका ४८ देश थिए। यो संख्या २०२३ मा ११२ पुगेको छ। जसमध्ये नौ राष्ट्र यस्ता पनि छन्, जहाँ गम्भीर अपराधका लागि मात्रै मृत्युदण्ड दिइन्थ्यो। मृत्युदण्डको व्यवस्था भए पनि पछिल्ला दशकमा २३ देशमा कसैलाई पनि मृत्युदण्ड दिइएको छैन।

साउन २३, २०८१ बिहीबार ०९:१२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।