खातामा पान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको आग्रह

खातामा पान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं : एनआईसी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्न आग्रह गरेको हो।

त्यसका लागि बैंकको वेबसाइट र मोबाइल बैंकिङ एप रहेको पान अपडेट विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।

यसका साथै ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत खातामा प्यान अद्यावधिक गर्न आवेदन दिन सकिन्छ।

यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ईटीडिएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ। पान अद्यावधिक भएपछि करकट्टीको विवरण पानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्छ।

ग्राहकले पान अद्यावधिक नगराएको कारणले ईटीडिएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने समेत बैंकले जनाएको छ।

साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन हुन अनुरोध छ।

साउन २३, २०८१ बिहीबार ०८:४१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।