प्रधानमन्त्री ओलीसँग ‘मेयर्स फोरम’को भेट, उपमेयर सुनिता सहभागी हुँदा बालेन गएनन्

प्रधानमन्त्री ओलीसँग ‘मेयर्स फोरम’को भेट, उपमेयर सुनिता सहभागी हुँदा बालेन गएनन्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादबाट जनताप्रति केन्द्रित भएर लाग्नुपर्ने बताएका छन्।

उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग बुधबार सिंहदरबारमा भएको भेटमा उनले जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित भएको भन्दै अहंकार र दम्भबाट निर्देशित नहुन आग्रह गरे। 

उनले काठमाडौं महानगरले नगर प्रहरी लगाएर फुटपाथ व्यापारीमाथि गरिरहेको दमनलाई संकेत गर्दै रोक्नुपर्ने बताए। 

‘हामीले अहंकार र दम्भबाट निर्देशित हुनुहुन्न। जनताप्रति शालिन र विनयशील हुनुपर्छ। हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन’, ओलीले भने, ‘सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन्। सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन्।’

फोरमका पदाधिकारीले नेपाल विद्युत प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएकोलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।

जबाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने आश्वासन दिए। 

फोरमका अध्यक्ष रहेका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। 

बालेन गएनन् 
चौथोपटक प्रधानमन्त्री बनेका ओलीसँगको छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन भने सहभागी भएनन्। उनको सट्टा उपमेयर सुनिता डंगोल सहभागी थिइन्। 

गिरीबन्धु टी-स्टेटको सम्बन्धमा बालेनले ओलीलाई '१० हजार करोडको गिरीबन्धु काण्ड गरेको' आरोप लगाएका थिए। त्यसयता बालेन-ओली विवाद चर्किएको छ। 

त्यसमा पनि न्यूरोडको फुटपाथ विस्तारमा एमाले वडा अध्यक्षले हस्तक्षेप गरेसँगै बालेन-ओली यो विवाद एमाले पार्टीसँगै पुगेको छ। यसले गर्दा पनि ओली र बालेनको दुरी बढ्दै गएको हो। 

त्यसै पनि बालेन यसअघि पनि तत्कालीन प्रधानमन्त्री प्रचण्डसँगको भेटमा समेत सहभागी भएका थिएनन्। 

‘मेयर्स फोरम’ काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख-उपप्रमुखहरूको साझा थलो हो। उपत्यकाको फोहोर व्यवस्थापनको प्रमुख दायित्व काठमाडौं महानगरको काँधमा छ। 

तर, कार्यकारी भूमिका रहेका बालेन नै संघीय सरकारसंग हुने यस्ता छलफलमा भाग लिन सिंहदरबार जाँदैनन्।  

साउन २२, २०८१ बुधबार २२:११:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।