क्यान्सरको अनुसन्धानमा सहकार्य गर्न काठमाडौँ क्यान्सर सेन्टर र काठमाडौँ विश्वविद्यालयबीच सहमति
काठमाडौँ क्यान्सर सेन्टर र काठमाडौँ विश्वविद्यालय (नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर) बिच नेपालमा क्यान्सर अनुसन्धान र उपचार बढाउने विषयमा सम्झौता भएको छ।
क्यान्सरको अध्ययन र उपचारमा सुधार ल्याउन दुवै पक्षबीच सहमति भएको हो। सेन्टरका अध्यक्ष डा. सीमित सापकोटा र काठमाडौँ विश्वविद्यालयको विज्ञान विद्यालयका डिन प्रा. जनार्दन लामिछानेले सम्झौतामा हस्ताक्षर गरेका थिए। कार्यक्रममा डा. सुभाष पण्डित, डा. अजय कुमार झा समेत उपस्थित थिए।
यो साझेदारीले क्यान्सर चाँडो पत्ता लगाउने, रोग निदान गर्ने, उपचार गर्ने र रोकथाम गर्ने काममा जोड दिने सहमतिमा उल्लेख छ।
सहमति अनुसार दुवै संस्थाले नयाँ प्रविधि र प्रयोगशालाहरू प्रयोग गरेर कृत्रिम बुद्धिमत्ता (एआई) को मद्दतले रोग पत्ता लगाउने, टाढैबाट उपचार गर्न सकिने उपचार प्रणालीको विकास गर्ने लगायत उल्लेख छ।
सम्झौता अनुसार चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता र विद्याजीहरूलाई तालिम दिने उल्लेख छ। कार्यक्रममा प्रा. लामिछानेले काठमाडौँ क्यान्सर सेन्टरसँग मिलेर क्यान्सर अनुसन्धानमा क्षमता बढाउन पाउँदा खुसी लागेको बताए।
यसले संयुक्त क्लिनिकल परीक्षण, क्षमता निर्माण र जनस्वास्थ्य पहुँचमा जैविक प्रविधिको विशेषज्ञता प्रयोग गर्न सक्षम बनाउने बताए।
डा. सापकोटाले यो समझदारीले नेपालमा क्यान्सर अनुसन्धान, विशेष गरी क्यान्सरको निदान र उपचारमा महत्त्वपूर्ण प्रगतिको सङ्केत गरेको बताए।
उनले विश्वविद्यालयको स्रोतसँग केन्द्रको क्लिनिकल अन्कोलोजी विशेषज्ञता एकीकृत गरेर नवीन अनुसन्धानको नेतृत्व गर्न सकिने बताए।
नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. राजेन्द्र ज्ञवालीले अत्याधुनिक प्रयोगशाला र उच्च स्तरीय उपकरणको प्रयोगले क्यान्सरको अनुसन्धान गरेर उपचारमा क्रान्ति ल्याउन चाहेको बताए।
साउन २३, २०८१ बुधबार २१:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।