‘बोक्सीको घर’ विवादपछि केकीको हातमा आयो ‘के घर के डेरा २’
काठमाडौं : गत वैशाखमा प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा राम्रै कलेक्सन गर्यो। ४५ लाख हाराहारीमा निर्माण भएको फिल्मले १० करोड भन्दा माथिको व्यापार गरेपछि हौसिएकी केकी अधिकारीको खुसीको सीमा नै थिएन। किनभने उनले यतिको सफलता अघिल्ला फिल्मबाट पाएकै थिइनन्।
‘बोक्सीको घर’ले यतिको राम्रो कमाई गर्ला भनेर उनले सोचेको थिइनन्। तर, फिल्मले एकाएक दर्शक तानेपछि उनी हर्षित भइन्। केही हलमा फिल्मले ५१ दिन पनि मनायो। यही फिल्म प्रदर्शनका लागि अष्ट्रेलिया उडेकी निमात्रीसमेत रहेकी केकी अधिकारीसँग यस फिल्मका लेखक, निर्देशक तथा कलाकार सुलक्षण भारतीले चित्त दुखाए।
उनको चित्त दुखाई आफूले फिल्म निर्माणमा यतिको मेहनत गरेको तर, अस्ट्रेलिया जाँदा केकी एक्लै जाने भन्ने भावको थियो। यसको जबाफ केकीले दिइनन्।
उनी अस्ट्रेलियाबाट आएपछि हिमाल सागरको एउटा गीतको भिडियोमा अभिनय गरिन्। तर, ‘बोक्सीको घर’को विवादबारे जबाफ नदिएरै टारिन्।
फिल्मबाट मनग्गे कमाइ भएपछि उनले वादविवादतर्फका कुरालाई वास्तै गरिनन्। फिल्मको दौडधुपले आराम गर्छु भनेकी केकीले आफ्नो फिल्म हलमा लागेको झण्डै चार महिनापछि नयाँ फिल्ममा साइन गरेकी छन्।
उनी दीपेन्द्र के खनालको फिल्म ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य अभिनेत्रीमा अनुबन्ध भएकी छन्। अनुबन्ध भएपछि निर्माण टिमले फिल्मको छायांकन पर्सिबाट नै थाल्ने जानकारी दिएको छ।
केकीसँगै फिल्ममा उपासना सिंह ठकुरी पनि फिल्ममा जोडिएकी छन्। निर्माण टिमले यसअघि फिल्मका लागि मुख्य कलाकारका रुपमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल गरिसकेको छ।
दीपेन्द्र के खनालको निर्देशनमा बन्ने यो फिल्मको कथा वुद्दिसागरको छ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ। यस फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्।
निर्माण पक्षका अनुसार यो फिल्म यसै वर्ष रिलिज गर्ने योजना रहेको छ।
साउन २३, २०८१ बुधबार २१:२८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।