काभा वुमन्स भलिबलमा नेपालले भारतसँग हारेपछि प्रधानमन्त्रीले भने 'सधैंको हार होइन'

काभा वुमन्स भलिबलमा नेपालले भारतसँग हारेपछि प्रधानमन्त्रीले भने 'सधैंको हार होइन'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतसँग जित निकाल्न नसकेपछि नेपाली टोलीलाई धन्यवाद दिएका छन्। 

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो। तर, नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्नुपर्ने भएकाले खेल हेर्न जान नपाएको ओलीले बताए। 

फाइनल खेल सकिएपछि सामाजिक संजालबाट प्रतिक्रिया लेख्दै प्रधानमन्त्री ओलीले नेपालकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लागेको  बताए। 

'तेस्रो चरणदेखि मात्र खेलको लाइभ हेरें। नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि हामीले जित्न सकेनौं। तीन नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो। एक पटकको हार सधैंको हार होइन, हामी जित्ने छौं, उनले लेखेका छन्। 

बुधबार अपराह्न त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको उपाधि भिडन्तमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको हो। 

साउन २२, २०८१ बुधबार २०:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।