सुर्खेतमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते
सुर्खेत : सुर्खेतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
सुर्खेतको लेकवेशी नगरपालिका–३ स्थित काप्रीखोला नजिक ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।
बुधबार दिउँसो लेकवेशी नगरपालिका–४ को दशरथपुरदेखि वडा नम्वर– १ लेखफर्सा तर्फ जाँदै गरेको मदेश प्रदेश ०३००१ क २४९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको भे १ ह ६६७५ नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट अटो चालक ४८ बर्षका डिलबहादुर डडालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घटनास्थलमा ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, बुधबारै साँझ वीरेन्द्रनगर नगरपालिका–८ स्थित इत्राम खोलामा ३२ जना विद्यार्थी बोकेर हिँडेको डिभी निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर दुर्घटनाहुँदा ११ जना विद्यार्थी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता बिरेन्द्र विर विश्वकर्माले घाइते एक जना विद्यार्थीको अवस्था गम्भीर रहेको बताए। बस स्कुल बिदा भएपछि घर फर्किँदै गरेको थियो।
प्रहरीका अनसार घाइतेहरुको उद्दार गरी स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ।
साउन २३, २०८१ बुधबार १९:५६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।