प्रचण्डले भने ‘प्रधानमन्त्री बन्न अहिलेलाई अब पुग्यो’

प्रचण्डले भने ‘प्रधानमन्त्री बन्न अहिलेलाई अब पुग्यो’

काठमाडौँ : एमाले र नेपाली कांग्रेस मिलेपछि सत्ताधारीबाट प्रतिपक्षी बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेका लागि प्रधानमन्त्री बन्न पुगेको भन्दै अबको संसद्को कार्यकालमा प्रधानमन्त्री नबन्ने दाबी गरे।

कहिले एमाले त कहिले कांग्रेसको सहयोगमा १८ महिना प्रधानमन्त्री भएका प्रचण्डले २०८४ को निर्वाचनमा पहिलो पार्टी भयो भने त्यही बेलामा सोचौला भन्दै प्रधानमन्त्री पायो भने गइहाल्छन् कि भनेर नसोच्न पार्टीका कार्यकर्ताहरूलाई आग्रह गरे।

पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उनले २०८४ सम्म जनतामा गएर पार्टी बनाउने सङ्कल्प गरेको दाबी गर्दै अबको निर्वाचनमा कसैसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने दाबी समेत गरे।

‘मौका मिल्ने बित्तिकै प्रचण्ड फेरि प्रधानमन्त्री बन्न गइहाल्छ कि भन्ने कतिपयलाई ! अब म यो कार्यकालमा प्रधानमन्त्री हुन्न। भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेलामा सोचौँला।’

माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको दाबी गर्दै उनले माओवादी सरकारबाट बाहिरिँदा गर्वका साथ बाहिरिएको र सरकारमा जानेहरू डराई डराई गएको दाबी गरे।

उनले निर्वाचनमा गठबन्धन गरेर कहिले सूर्यलाई, कहिले रुखलाई भोट हाल्दा माओवादी घटेर ३२ सिटमा आएको तर्क गरे। उनले अब कसैको वैशाखी नचाहिने भन्दै निर्वाचनमा एक्लै लड्ने दाबी गरे।

‘माओवादी भनेको त साँचै सिंह हो नि, एक पटक गर्जेपछि सबैको सातो जानुपर्ने हो। हामी २०८४ मा सिङ्गल चुनाव लड्ने हो। आफ्नो खुट्टामा उभिएर १६५ वटै क्षेत्रमा चुनाव लड्ने हो। सबै प्रदेशमा चुनाव लड्ने। त्यसो गर्दा अहिलेको भन्दा त्यसै पनि बढी सिट आउँछ’ उनले भने।

साउन २२, २०८१ बुधबार १८:०३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।