सेयर बजारबारे नकारात्मक अभिव्यक्ति दिने सांसदविरुद्व उत्रिए लगानीकर्ता, घटेको बजारको क्षतिपूर्ति दिनुपर्ने माग
काठमाडौं : लगानीकर्ता संघले सेयर बजारबारे नकारात्मक अभिव्यक्ति दिने सांसदको आलोचना गरेका छन्। निरन्तर उकालो लागेको सेयर बजारमा मंगलबार पहिरो गएपछि ४ लगानीकर्ता संघले विज्ञप्ति जारी गरेर विरोध जनाए।
विरोध जनाउनेमा जनरल इन्भेष्टमेष्टर एसोसियसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, साधारण लगानीकर्ता संघ नेपाल छन्।
गत सोमबार स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सांसद बैठकमा इन्भेस्टर र सेयर ब्रोकरले सिन्डिकेट गरेर कृतिम रुपमा सेयर बजार बढाएको र साना लगानीकर्तामाथि ठगी गरेको दावी गरेका थिए। त्यस्तै, पूर्वअर्थमन्त्री प्रकाशशरण महत र माओवादी राजन दाहालले पनि संसद बैठकमा सेयर बजार बढेको नकारात्मक अभिव्यक्ति दिएपछि मंगलबार बजारमा भारी गिरावट आयो।
संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘आर्थिक क्षेत्र चलायमान बनाउनको लागि नेपाल सरकारले र राष्ट्र बैँकले सकारात्मक कदम चालेसँगै पूँजीबजार आफ्नो लयमा चलिरहेको थियो। ३२ सयको विन्दुमा १८०० को विन्दुसम्म आइपुग्दा लगानीकर्ताले २५ खर्बभन्दा बढी रूपैँया गुमाइएको छ।’
त्यस्तै, सांसदहरूलाई पूँजी बजार सम्बन्धमा जथाभावी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गर्नसमेत आग्रह गरिएको छ।
लगानीकर्ताहरूले नियामक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराइदिन माग गरेका छन्।
२०७८ माघ मसान्तपछि उचाइ लिएको सेयर बजार मंगलबार १४५ अंकले घटेको थियो। त्यसदिन कारोबारमा आएका ३२२ कम्पनीमध्ये २३३ कम्पनीको सेयर भाउ ओरालो लागेको थियो।
तर, कारोबार रकमका आधारमा मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख बराबरको सेयर किनबेच भएको थियो।
साउन २३, २०८१ बुधबार १७:१७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।