नुवाकोट हेलिकप्टर दुर्घटना : स्थानीयले डाँडामा धुवाँ देखेपछि प्रहरीलाई खबर गरे, उडेको ३ मिनेटमै सम्पर्कबिहीन थियो हेलिकप्टर!

नुवाकोट हेलिकप्टर दुर्घटना : स्थानीयले डाँडामा धुवाँ देखेपछि प्रहरीलाई खबर गरे, उडेको ३ मिनेटमै सम्पर्कबिहीन थियो हेलिकप्टर!

काठमाडौं : नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर उडेको ३ मिनेटपछि काठमाडौं टावरसँग सम्पर्कबिहीन भएको खुलेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति जारी गर्दै स्थानीय समयानुसार १:५४ मा एयर डाइनेस्टीको 9N-AJD रजिष्ट्रेशन नम्बर रहेको हेलिकप्टर काठमाडौं विमानस्थलबाट स्याफ्रुबेशी, रसुवाका लागि ४ जना यात्रु  (चिनियाँ नागरिक) सहित उडान गरेको जनाएको छ।

‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भई शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको’, विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

हेलिकप्टरमा ५ जना सवार रहेको र उनीहरू मृत्यु भएको छ। 

दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको र पाइलट नेपाली रहेको खुलेको छ।

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन अरुण मल्ल छन्।

प्रहरीका अनुसार स्थानीयबासीले सूर्यचौर डाँडामा धुवाँ देखेपछि खबर गरेका थिए। 

हेलिकप्टरमा अहिले पनि आगो लागिरहेको बताइएको छ। 

कम्पनीका म्यानेजर बालकृष्ण पण्डितका अनुसार दुर्घटना हुनुअघि ९एन एजेडी हेलिकप्टर लुक्लाबाट काठमाडौँ आएको थियो।

सबै कण्डिसन राम्रो रहेकै अवस्थामा हेलिकप्टर १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याप्रुबेसी उडेको बताइएको छ। 

सम्बन्धित समाचार :

साउन २२, २०८१ बुधबार १६:३७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।