सुरक्षाको ब्याड लक : पात्र हिट तर फिल्म प्राय: फ्लप
काठमाडौँ : अभिनय गरेको फिल्मको सङ्ख्या हेर्दा अभिनेत्री सुरक्षा पन्तको फिल्मी यात्रा निराशाजनक देखिँदैन। अभिनयमा विविधता दिने प्रयास पनि गरेकै देखिन्छ। अभिनय क्षमता कमजोर पनि हैन।
तर व्यावसायिक रूपमा सफल फिल्मको सङ्ख्या हेर्ने हो भने उत्साहजनक देखिँदैन उनको अभिनय यात्रा।
उनले अभिनय गरेको फिल्म 'अझै पनि' 'धनपति', 'गोपी', 'के घर के डेरा', 'रोमियो एन्ड मुना', 'पोइपर्यो काले', 'घर', 'आमा', 'सुस्केरा', 'वहाव'हुँदै 'बुलाकी'सम्म पुग्दा व्यावसायिक रूपमा सफल फिल्म दुर्लभ नै छन्।
व्यवसायी रूपमा सफल फिल्म निर्देशन गरेका दीपेन्द्र के खनालको निर्देशनमा बनेका फिल्ममा पन्त टन्नै दोहोरिएकी छिन्। तर उनले जुन फिल्म अभिनय गरिन् त्यो नै ब्यवासयिक रूपमा कमजोर भइदिन्छ।
दीपेन्द्र लामा, अर्पण थापा,प्रमोद कँडेल, नरेश केसी, शिशिर राणा, साम्तेन भुटिया, परिच्छेद सेनको निर्देशनमा पनि काम गरिन् उनले। तर नतिजा उहीँ।
उनले अभिनय गरेका फिल्ममा कमर्शियल फिल्मको सङ्ख्या एकदम कम छ। जति कमर्शियल फिल्ममा अभिनय गरिन् ती पनि व्यावसायिक रूपमा सफल भएनन्।
सुरक्षाले कलात्मक फिल्ममै बढी अभिनय गरिन्। चरित्रगत आधारमा उनले ती फिल्महरूमा भिन्न भिन्न पात्रको भूमिका निभाएकी पनि छिन्। चरित्रगत आधारमा मनोटोनस हुने अभिनय पनि देखिँदैन।
आमा, बहाव जस्ता फिल्ममा उनले गरेको अभिनयको प्रशंसा भएको थियो। व्यवसायीक सफलता पाउने सम्भावना देखिएको पनि हो। तर दुवै फिल्म व्यवसायी रूपमा सफल भएनन्। सुरक्षाको रेकर्ड तोडिएन।
फिल्म बुलाकीबाट उनले निकै आस गरेको देखिन्थ्यो। फिल्म रिलिज पनि भयो। तर हलमा टिक्न सकेन। 'बुलाकी'सँगै रिलिज भएको 'जारी' ले अधिकांश शो टाइम पाएपछि 'बुलाकी' को निर्माण टिमले शो टाइममा भेदभाव भयो भन्दै हलबाट फिल्म उतारे।
भेदभाव भो भने पनि मूल कारण जारीको क्रेजले बुलाकीको शो सुक्खा लगाउनु मूल कारण देखिएको थियो। अर्को एकै विषयका दुई फिल्म एकै दिन रिलिज हुनु पनि कारण थियो।
फिल्म जारी जारी प्रथामा आधारित थियो भने बुलाकी पनि जारी प्रथामै बनेको फिल्म थियो। फरक भूगोल भए पनि एकै कथामा बनेका दुई फिल्म रिलिज हुँदा दुवै चल्ने सम्भावना कम हुने नै भयो। दयाहाङ राई र मिरुनाको अभिनय दर्शकले रुचाए। जारी सर्वाधिक कमाउने फिल्म बन्यो। बुलाकी मारमा परेर हलबाटै उत्रियो।
शो सङ्ख्या पाए दर्शकबाट साथ पाउने आत्मविश्वास भने देखियो यो फिल्मको निर्माण टिमले। त्यसैले उनीहरू फिल्म बुलाकी रि-रिलिज गर्दैछन्।
अनि अभिनेत्री पन्त चरित्रमा मात्र हिट, व्यवसायी रूपमा सधैँ फ्लप फिल्मको रेकर्ड तोडिने आसमा रि-रिलिज हुने फिल्मको प्रचारमा पनि नयाँ फिल्म जत्तिकै मिहिनेत गरिरहेकी छिन्।
अन्तर्वार्ता त सामान्य नै भयो यही फिल्मको प्रचारमा लागि उनी स्ट्यान्ड अप कमेडीको मञ्चमा पुगेर प्रस्तुतिसम्म दिइन्।
आफूलाई दिइएको बौद्धिक नायिकाको ट्याग अनि त्यही ट्यागसँग जोडिँदै आउने आर्टमुभीको अफरमाथि मजाले व्यङ्ग्य हानेको उनको प्रस्तुति हिट पनि भयो। अब बुलाकी....?
साउन २३, २०८१ बुधबार १६:१०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।