तौल बढी भएपछि फाइनल खेलअघि ओलम्पिकबाट बाहिरिइन् भारतीय पहलवान
एजेन्सी : भारतीय पहलवान विनेश फोगाटले पेरिस ओलम्पिकबाट बाहिरिएकी छन्।
तोकिएको विधामा बढी तौलका कारण उनी प्रतियोगिताबाट बाहिरिएकी हुन्। विनेश ५० केजी तौल समूहमा खेल्दै आएकी थिइन्।
बुधबार उनको तौल १०० ग्रामभन्दा बढी रहेको पाइएपछि आयोजकले उनलाई ओलम्पिक महिला कुस्तीमा अयोग्य ठहर गरेको हो।
भारतीय ओलम्पिक संघले विनेशलाई अयोग्य घोषित गरेको पुष्टि गरेको छ। योसँगै विनेशले बुधबार राति हुने ५० केजी तौल समूहको महिला कुस्तीको फाइनल समेत गुमाएकी छन्।
मंगलबार भएको सेमिफाइनलमा विनेश फोगाटले क्युबाकी पहलवान गुजमान लोपेजलाई ५-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।
आफ्नो विधाको पहिलो खेलमा उनले ओलम्पिक स्वर्ण पदक विजेता तथा विश्व च्याम्पियन जापानकी युई सुसाकीलाई ३-२ ले पराजित गरेकी थिइन्।
साउन २३, २०८१ बुधबार १२:४७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।