शहरको उज्यालो, चराचुरुङ्गीलाई पासो

शहरको उज्यालो, चराचुरुङ्गीलाई पासो

बुटवल : बुटवल बसपार्कको गुल्मी टिकट काउन्टर अगाडि रहेका ठूला रुखहरूमा साँझ पर्ना साथ चराहरूको झुण्ड बासस्थल खोज्दै आइपुग्छ। ​​​​​दिनभर आहार विहारको खोजीमा उडेका चरा साँझ बास बस्न रुखमा आउँछन्। त्यहि रुखमा चराले गुँड बनाउँछन्। अण्डा कोरलेर बच्चा जन्माउँछन्।

बुटवलको बसपार्क क्षेत्र १५ भन्दा बढी प्रजातिका चराहरूको बासस्थल हो। यहाँका रुखहरूमा सयौंको संख्यामा चराहरू राति बास बस्छन्।

बुटवलको बसपार्कभित्र अँध्यारोमा बास बस्ने चराहरू अब विस्तारै स्थानान्तरण हुन थालेका छन्। रातिमा पनि दिउँसो जस्तै प्रकाश छर्ने लाइटका कारण त्यस क्षेत्रमा बासस्थल बनाएका चराहरू स्थानान्तरण हुन थालेका हुन्।

बुटवल बसपार्कभित्र दुई ठूला हाइमाक्स लाइट जडान गरिएको छ। चमकदार प्रकाशले बसपार्क उज्यालो भएको छ। यसले सवारी साधनको सुरक्षा, चोरी, डकैटी न्यूनिकरण त भएकै छ। तर, रातलाई अध्यारो नै हुन नदिँदा चराचुरुङ्गी र साना परजीविहरूको बासस्थान उठ्दै गएको छ।

चराविद् कृष्ण भुसाल मानव निर्मित रातको उज्यालोले चराहरूको जीवन चक्रमा परिर्वतन हुने गरेको बताउँछन्। उज्यालो प्रकाश रातीमा सक्रिय हुने चरा र जीवजन्तुका लागि घातक भएको उनको भनाइ छ।

‘हामीले त्यति ख्याल गर्दैनौँ। रातीमा धेरै जसो चराहरू बसाइ सर्छन्। त्यस्ता चराहरूलाई रातीको उज्यालोले गन्तव्यमा जान कठिनाइ हुन्छ’, उनी भन्छन्।

खासगरी रातको समयमा गीतारु, साना फिस्टे, चाँर प्रजाति, पानी चरा लगायतका चराहरू बसाइ सर्ने गर्दछन्। तर, उज्यालो प्रकाशका कारण यी साना चराहरू गिद्ध, चिल जस्ता ठूला सिकारी चराको आक्रमणमा पर्छन्।

‘उज्यालो प्रकाशले रातीमा आराम गर्ने चराहरू सुत्न पाउँदैनन्। उज्यालो भएकै कारण बास बसेका चराहरूमा पनि आक्रमणमा पर्ने डर उत्तिकै हुन्छ। त्यति मात्र होइन, उनीहरूको प्रजननमा पनि उज्यालो प्रकाशले असर गर्छ’, उनी थप प्रस्ट्याउँछन्।

बढी उज्यालो हुँदा सिकारी जीवहरूले चरालाई देख्ने र आक्रमण गर्ने भएकाले अनावश्यक प्रकाश प्रदूषण नगर्न चराविद् भुसालको सुझाव छ। रातीमा सक्रिय हुने किराहरूको फोटोट्याक्सिसको कारण कृतिम प्रकाशका स्रोतहरू धेरै किराहरूका पासो बनिरहेको उनी बताउँछन्।

रातको समयमा चराहरू नदी, भौगोलिक श्रृंखला, ल्याण्डमार्क, चुम्बकीय शक्तिका आधारमा एक ठाउँबाट अर्को ठाउँमा बसाइ सर्छन्। तर उनीहरू उज्यालो बढी हुँदा गन्तव्यमा जान सक्दैनन्। यसले उनीहरूको दैनिक जीवनचक्रमै असर गरेको छ।

चराविज्ञ भुसाल, उज्यालो लाइटकै कारण उनीहरूको ‘बायोलोजिकल क्लक’ (जैविक घडी)मा असर पुग्ने गरेको जानकारी दिन्छन्।

‘अहिले शहरका कुखुरा राती पनि बास्छन्। प्राय कुखुरा विहान बास्थे। तर, राती पनि कुखुरा बास्नु भनेको उनीहरूको जैविक घडीमा असर पुगेको हो भनेर बुझ्न सकिन्छ। किनकी उज्यालो देखेकै कारण ऊ रातीमा बास्न पुगेको हो’, उनी थप प्रष्ट पार्छन्।

प्रकाश प्रदूषण विशेष रूपमा निशाचर र प्रवासी जनावरहरूको लागि हानिकारक छ। विश्वव्यापी रूपमा लगभग ३० प्रतिशत ढाड भएका र ६० प्रतिशत ढाड नभएका जनावरहरू निशाचर छन्। यी प्रजातिहरू कृतिम प्रकाशको हानिकारक असरको सिकार बनिरहेका विभिन्न अध्ययनले समेत देखाएको छ।

संरक्षण विद् डा. हुम गुरुङ, विकास गर्दा ध्यान नपुराउने हो भने त्यसले विनास निम्ताउनेतर्फ सरोकारवालालाई सचेत गराउँछन्। पृथ्वी सबैको साझा घर भएकाले सबैले बाच्न पाउने अधिकार रहेको उनको भनाइ छ।

‘हामीले विकास गर्दा यस पृथ्वीमा भएका जलचर देखि साना परजीवि, किराफट्याङग्रा, चराहरूलाई असर नपर्ने गरी गर्नुपर्छ,’ उनी भन्छन्, ‘यसो भएमा मात्र पृथ्वीमै सन्तुलन हुन्छ।’

पछिल्लो समय मानव निर्मित प्रकाश प्रदूषणले धेरै जीवजन्तुको ‘जैविक घडी’मा असर पुगेकाले यसलाई कम गर्न उनको सुझाव छ।

रातलाई रात हुन नदिँदा चराहरूको शारीरिक, मानसिक र आनीबानीमा बदलाव आउने गर्छ। प्रकाश प्रदूषण पर्यावरणीय सन्तुलनका हिसाबले पनि हानिकारक भएकाले अनावश्यक उज्यालो कम गर्नुपर्नेमा विज्ञको सुझाव छ।

अटोमेटिक र सेन्सरयुक्त बत्ती जडान गरेर आवश्यकता हुँदा बाल्ने नत्र बन्द गर्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

आजकल चमकदार प्रकाश र रंगीविरंगी लाइटले शहर रंगिएको छ। अधिकांशले त्यसैलाई विकासको प्रतिक मानिरहेका छन्। तर, यसबाट पर्ने गरेको असरको बारेमा पनि बहस गर्नुपर्नेमा चराविद्हरूको जोड छ।

शहरमा जोडिने बत्तीलाई मात्र विकासको प्रतिक नमान्न र त्यस्ता विकासलाई आवश्यकता अनुसार मात्र प्रयोग गर्न उनको सुझाव छ। यसले तत्काल ठूलो समस्या नदेखिए पनि चराचुरुङ्गी र परजीविहरूबारे चासो राख्नुपर्नेमा भुसाल बताउँछन्।

साउन २३, २०८१ बुधबार १२:१६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।