एउटै प्रतियोगितामा पाँच पटक स्वर्ण जितेर कीर्तिमान

एउटै प्रतियोगितामा पाँच पटक स्वर्ण जितेर कीर्तिमान

एजेन्सी : क्युवाका पहलवान मिजान लोपेजले लगातार पाँच ओलम्पिकमा एउटै प्रतियोगितामा स्वर्ण पदक जितेर इतिहास रचेका छन्।

अबको केही सातामा ४२ वर्ष पुग्न लागेका लोपेजले चिलीका रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान आफ्नो नाममा बनाएका हुन्।

उनले पुरुष ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा स्वर्ण पदक जितेर लगातार पाँचौं पटक व्यक्तिगत उपाधि जितेका हुन्।

मिजान लोपेजले आफ्नो पाँचौं स्वर्ण पदक जितेपछि आफ्नो जुत्ता म्याटमा छोडेका छन्। यो संकेतलाई उनले ग्रीको-रोमन कुस्तीबाट सन्यास लिएको भनिएको छ। तर, उनले औपचारिक रुपमा घोषणा भने गरेका छैनन्।

यसअघि उनीसँग ओलम्पिकमा लगातार चार पटक स्वर्ण पदक जित्ने कीर्तिमान थियो। लगातार चार पटक स्वर्ण पदक जित्नेमा उनीसँगै कार्ल लुइस (लङ जम्प), माइकल फेल्प्स (२०० मिटर पौडी), केटी लेडेकी (स्विमिङ ८०० मिटर फ्रीस्टाइल), अल ओर्टर (डिस्कस थ्रो), पॉल एल्भस्ट्रोम (नौकायन) र काओरी इको (कुश्ती) थिए।

लोपेजले तीन वर्षपछि सन्यास फिर्ता लिएर प्रतियोगितामा सहभागी भएका थिए।

मिजान लोपेजले आफ्नो २३ ओलम्पिक खेलमध्ये एक खेलमा मात्र हार बेहोरेका छन्। उनी सन् २००४ को एथेन्स ओलम्पिकमा क्वार्टरफाइनलमा पराजित भएका थिए।

साउन २३, २०८१ बुधबार ११:१६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।