हसिनाले ‘पद्मा नदीमा डुबाइदेउ’ भनेका युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार

हसिनाले ‘पद्मा नदीमा डुबाइदेउ’ भनेका युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार

जनवरी २००७। बंगलादेशमा सेनाले सत्ता कब्जा गर्यो। दुवै पूर्व प्रधानमन्त्री शेख हसिना र खालिदा जिया भ्रष्टाचारको आरोपमा जेलमा थिए।

सेनाले बंगलादेशका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई कार्यवाहक प्रधानमन्त्री बनाउने प्रयास गर्यो। तर, युनुस यति ठूलो जिम्मेवारी लिनबाट पछि हटे।

१७ वर्षपछि बंगलादेशमा फेरि राजनीतिक उथलपुथल भएको छ। शेख हसिना देश छोडेर भागेकी छन्। अब अन्तरिम सरकार चलाउने जिम्मेवारी उनै मोहम्मद युनुसको काँधमा आइपुगेको छ। यसपटक युनुसले पनि प्रस्ताव स्वीकार गरेका छन्।

उनी अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुनेछन्। युनुसको नाम आएपछि विश्वभर उनको चर्चा भइरहेको छ। उनी अपरिचित व्यक्ति होइनन्। गरिबी उन्मूलन गर्ने माध्यम भएको भन्दै उनले नोबेल पुरस्कार पाएका हुन्।

शेख हसिनाका कट्टर प्रतिद्वन्द्वी भनिने मोहम्मद युनुस को हुन्, बंगलादेशको राजनीतिमा उनी कसरी यति ठूलो नाम बने र १६ वर्षअघि हसिनासँग उनको दुश्मनी कसरी सुरु भयो। आउनुहोस् उनीबारे केही जान्ने कोसिस गरौँ।

वर्षौंसम्म अर्थशास्त्र पढाएपछि त्यसैलाई ‘व्यर्थ’ भने
मोहम्मद युनुस एक सामाजिक कार्यकर्ता, बैंकर र अर्थशास्त्री हुन्। उनको जन्म २८ जुन १९४० मा दास र अविभाजित भारतमा भएको थियो। उनको जन्म बङ्गालको चटगाउँस्थित हाजी मोहम्मद शौदागरको घरमा भएको थियो। ढाका विश्वविद्यालयबाट अर्थशास्त्रमा प्रारम्भिक अध्ययन पूरा गरेपछि उनी अमेरिका गए। जहाँ उनले पीएचडी गरे र अर्थशास्त्र पढाउन थाले।

युनुस बंगलादेश स्वतन्त्र भएपछि स्वदेश फर्किएका थिए। उनी चटगाउँ विश्वविद्यालयमा अर्थशास्त्र विभाग प्रमुखको पदमा थिए। यो समय देशको अवस्था राम्रो थिएन। सन् १९७१ को युद्धपछि बंगलादेशका लाखौं मानिस दिनको दुई छाक खानाको लागि समेत तड्पिरहेका थिए।

हरेक दिन गरिबीसँग लडिरहेका यी मानिसहरूलाई देखेर युनुस अर्थशास्त्र पढाउन मन लागेन। उनले यसलाई बेकारको विषय भने। टाइम म्यागजिनसँगको अन्तर्वार्तामा उनले अर्थशास्त्रले मानिसको भोक कसरी मेटाउन सकिन्छ भन्ने कुरा नभनेको बताए। यसपछि युनुस आफ्नो वरपरका गाउँहरूमा घुम्न थाले र जनताको कल्याणको अवसर खोज्न थाले।

५०० टका ऋणले सुधारेको महिलाको जीवनस्तर
डेली स्टारको रिपोर्टका अनुसार एक दिन गाउँबाट जाँदै गर्दा युनुसले आफ्नो झुपडी बाहिर बाँसको टेबुल बनाउँदै आएकी एक महिलालाई देखे। महिलासँग कुरा गरेपछि उनले एक साहुबाट ५०० टका (बंगलादेशी रकम) ऋण लिएको थाहा पाए।

साहुले उनलाई यो टेबुल कुनै पनि बजारमा बिक्री नगर्ने सर्त राखेका थिए। ती साहुले यो टेबुल मनोमानी मूल्यमा ती महिलासँग किनेर बजारमा महंगोमा बेच्ने गर्थे। युनुसले यसलाई व्यवसाय नभनेर दासप्रथाको उपमा दिए।

युनुसले महिलालाई पाँच सय रुपैयाँ दिएर ऋण तिर्न भने। उनले महिलालाई पैसा कमाएपछि मात्र फिर्ता गर्न भने। त्यसपछि उनले ४२ महिला समूहलाई ऋण दिए। यसलाई माइक्रोक्रेडिट नाम दिइएको थियो। ती महिलाहरूले यो ऋणको लागि कुनै धितो जम्मा गर्नुपर्दैनथ्यो।

यी महिला समूहले चाँडै युनुसको ऋण फिर्ता गरे। यो ऋण दिने प्रणालीको सफलतापछि मात्र बंगलादेशमा ग्रामीण बैंकको आधार निर्माण भएको थियो। मोहम्मद युनुसले बनाएको ग्रामीण बैंकले विगत ४० वर्षमा १ करोडभन्दा बढी गरिब महिलालाई ४.३ लाख करोड टकाभन्दा बढी ऋण दिएको छ।

बंगलादेशमा ग्रामीण बैंकको सफलता देखेर अन्य देशहरूले पनि यसलाई अपनाए। अहिले लघु कर्जाको अभ्यास १०० भन्दा बढी देशमा फैलिसकेको छ। नेपालमा पनि लघुवित्तको नाममा यसलाई अवलम्बन गरिँदै आइएको छ। अमेरिका जस्ता विकसित देशले पनि यसलाई अपनाएका छन्।

ग्रामीण बैंकको सफलतापछि युनुसले सन् १९९७ मा ग्रामीण फोन कम्पनी खोले। यो कम्पनी बंगलादेशमा प्रिपेड मोबाइल सेवा सुरु गर्ने पहिलो कम्पनी थियो। आज ग्रामीण फोन बंगलादेशको सबैभन्दा ठूलो मोबाइल नेटवर्क कम्पनी हो। यसले बजारको ४८ प्रतिशत हिस्सा ओगटेको छ। यसका ८ करोडभन्दा बढी ग्राहक छन्। यो सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनी हो।

नोबेल पुरस्कारपछि राजनीतिमा
मानिसहरूलाई गरिबी बाट निकालेको भनेर बंगलादेशमा मोहम्मद युनुसलाई ‘गरिबको साथी’ र ‘गरिबको बैंकर’ भनेर चिनिन थालियो। ग्रामीण बैंक र मोहम्मद युनुसलाई गरिबी उन्मूलनका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

१८ फेब्रुअरी २००७ मा युनुसले ‘नागरिक शक्ति’ नामक राजनीतिक पार्टी गठन गरे। उनले यस पार्टीमा स्वच्छ छवि भएका व्यक्तिलाई मात्रै समावेश गर्ने बताए।

युनुसले सन् २००८ को चुनाव लड्ने मनसाय राखेका थिए। यसका लागि उनले आफ्नो पार्टीमा ठूला नामहरू थपे, जसमा प्रोफेसरहरू र प्रसिद्ध पत्रकारहरू समेत सामिल थिए। त्यो समय युनुसको कदम पछाडि सेनाको हात रहेको समेत चर्चा थियो।

नयाँ पार्टी बनाएपछि हसिनासँग शत्रुता
नयाँ पार्टी गठन गरे पनि युनुस ग्रामीण बैंकसँग जोडिएका थिए। राजनीतिक पार्टीमा लागेपछि उनीमाथि बैंक छोड्न दबाब बढ्यो। उनको पार्टीमा राजनीतिसँग जोडिएका व्यक्तिहरू नभएकाले खास आकर्षण ल्याउन सकेन। त्यति मात्र नभएर उनी अब मुख्य पार्टीका नेताहरूको समेत तारोमा पर्न थालेका थिए।

शेख हसिनाले युनुसलाई राजनीतिको लागि खतरा सम्झँदै त्यस समय भनेकी थिइन्, ‘राजनीतिमा नयाँ आउनेहरू प्रायः खतरनाक हुन्छन्, उनीहरूलाई शङ्काको नजरले हेर्नुपर्छ। उनीहरूले देशलाई फाइदा भन्दा बढी नोक्सान पुर्याउँछन्।’

आफूलाई निशाना बनाइएपछि पार्टी स्थापना भएको ७६औं दिनमा युनुसले पार्टी परित्यागको घोषणा गर्छन्। तर, राजनीति छाडिसक्दा समेत शेख हसिनाले उनलाई छाड्दिनन्, उनलाई हसिनाले आफ्नो शत्रु नै ठान्छिन्। सन् २००८ मा सरकार गठन गरेलगत्तै हसिनाले युनुसमाथि अनुसन्धान गर्न अनुसन्धान एजेन्सीहरू खटाइन्।

युनुसको खराब दिन सुरु भइसकेको थियो। उनीमाथि सरकारलाई जानकारी नदिई विदेशबाट पैसा ल्याएको र दूरसञ्चार नियम उल्लंघन गरेको आरोप लगाइयो। युनुसविरुद्ध आफ्नै कम्पनीका कर्मचारीले समेत मुद्दा दायर गरेका थिए। त्यतिबेलासम्म शेख हसिनाले युनुसमाथि खुलेरै आक्रमण गर्न थालिन्।

ज्यान मार्ने धम्की आएपछि अमेरिकी दूतावासमा लुके
शेख हसिनाले युनुसले गरिबलाई उच्च ब्याजदरमा ऋण दिने गरेको आरोप लगाउँदै भनिन् ‘यिनीहरू गरिबका सहयोगी होइनन्, गरिबको रगत चुसिरहेका छन्।’

त्यसपछि २०११ मा युनुसलाई आफैँले स्थापना गरेको ग्रामीण बैंकबाट निकालियो। अवकाशको उमेर ६० वर्ष पूरा गरेपछि पनि उनी ग्रामीण बैंकको प्रबन्ध सञ्चालक रहेका कारण उनलाई निकालिएको बताइन्छ।

हसिनाले युनुसलाई विदेशी शक्तिको कठपुतली भएको आरोप लगाउँदै देशमा केही गलत हुँदा युनुसलाई नै दोष लगाइन्।

२०१२ मा विश्व बैंकले पद्मा (गंगा) नदीमा पुल निर्माण गर्न कोष दान गर्न अस्वीकार गर्यो। यसबाट हसिना निकै आक्रोशित बनेकी थिइन्। उनले युनुसमाथि विश्व बैंकलाई भ्रमित गर्न आफ्नो सम्पर्क प्रयोग गरेको समेत आरोप लगाइन्।

यहि घटनालाई लिएर ज्यान मार्ने धम्की पाएपछि युनुस आफ्नो परिवारसँग ढाकास्थित अमेरिकी दूतावासमा केही समय लुकेर बस्नुपरेको थियो।

दश वर्षपछि सन् २०२२ मा पद्मा नदीको पुल तयार भयो। पुल बनेपछि बसेको अवामी लिगको एक बैठकमा शेख हसिनाले युनुसलाई पद्मा नदीमा डुबाउनुपर्ने बताएकी थिइन्।

उनले उक्त बैठकमा भनेकी थिइन्, ‘युनुसलाई पद्मा (गंगा) नदीमा डुबाउनुपर्ने अनि सास जाने बेला भएपछि पुलबाट माथि तान्नुपर्ने। अनि मात्र उनले पाठ सिक्छन्।’

बुवाको कट्टर समर्थक, छोरीको दुश्मन
मोहम्मद युनुस र शेख हसिनाबीच सधैं दुश्मनी थिएन। सन् १९९७ मा युनुसले अमेरिकामा एउटा कार्यक्रम आयोजना गरे जसमा हसिनालाई सह-अध्यक्ष बनाइएको थियो। यसमा हसिनाले युनुसको धेरै प्रशंसा गर्दै उनलाई संसारबाट गरिबी उन्मुलन गर्ने व्यक्ति भन्दै प्रशंसा गरेकी थिइन्।

युनुस शेख हसिनाका पिता शेख मुजिबुर रहमानका कट्टर समर्थक थिए।

तर, चुनाव लड्ने उनको निर्णयले शेख हसिनासँगको सम्बन्धमा चिसोपन ल्यायो। त्यसपछि युनुसविरुद्ध एक सयभन्दा बढी मुद्दा लगाइयो। ती मुद्दा अझै अदालतमा विचाराधीन छन्।युनुसलाई भ्रष्टाचार मुद्दामा अदालतले ६ महिना जेल सजाय समेत सुनाएको थियो। तर, त्यतिबेला उनले देश छाडिसकेका थिए।

लामो समयदेखि युनुसले शेख हसिनालाई बंगलादेशको लोकतन्त्रको हत्यारा भनिरहेका छन्। भारतको उक्साहटमा हसिना तानाशाह बनेको र जबरजस्ती बंगलादेशको सत्ता हातमा लिएको उनको भनाइ छ।

साउन २२, २०८१ बुधबार १०:५५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।