ललितपुरमा थप तीन जनामा हैजा भेटियो, संक्रमितको संख्या ३० पुग्यो

ललितपुरमा थप तीन जनामा हैजा भेटियो, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं : थप तीन जनामा हैजा संक्रमण पुष्टि भएसँगै चालु आर्थिक वर्षमा देशभर हैजा संक्रमितको संख्या ३० पुगेको छ।

सोमबार ललितपुरमा तीन जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार ललितपुरमा तीन जनामा हैजा देखिएको थियो। त्यसमध्ये दुई जना अस्पताल भर्ना भएका छन्।

हैजा देखिएका ३० जनामध्ये १८ जना पुरुष र १२ जना महिला रहेका छन्। अहिलेसम्म ललितपुरमा १९, कैलालीमा आठ, प्यूठानमा दुई र काठमाडौंमा एक जनामा संक्रमण देखिएको हो।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका १४४ अस्पतालहरूमा उपचाररत झाडापाखलाका बिरामीहरूमा नियमित रुपमा हैजाको निगरानी गरिरहेको छ।

मन्त्रालयले हैजा प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको जनाएको छ।

एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जना भन्दा बढि झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गरी जानकारी गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ। 

प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामको लागि आवश्यकताअनुसार विज्ञ परिचालन गर्ने, नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढिकरणका लागि सरोकारवाला निकायहरूबीच एकीकृत समन्वय गर्ने र राष्ट्रिय हैजा नियन्त्रण/रोकथाम योजना २०२४-२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने मन्त्रालयको योजना छ।  

साउन २३, २०८१ बुधबार ०८:३८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।