बंगलादेशको अन्तरिम सरकारको नेतृत्वमा मोहम्मद युनुस, सर्वोच्चका न्यायाधीशसहित पूर्वमन्त्रीहरूले देश छाडे

बंगलादेशको अन्तरिम सरकारको नेतृत्वमा मोहम्मद युनुस, सर्वोच्चका न्यायाधीशसहित पूर्वमन्त्रीहरूले देश छाडे

एजेन्सी : नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठनको कुरा गरेका थिए।

राष्ट्रपतिका प्रेस सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको जानकारी दिएका छन्। राष्ट्रपति, सेना र विद्यार्थीबीचको बैठकपछि यो निर्णय भएको हो।

मोहम्मद युनुसले भनेका छन्, ‘यति धेरै त्याग गरेका विद्यार्थीले मलाई यो कठिन समयमा नेतृत्व गर्न आग्रह गरिरहेका छन् भने म कसरी अस्वीकार गर्छु।’

देशमा आफू अनुकुलको परिस्थिति नभएपछि हसिना सरकारका मन्त्रीहरूले परिवारसहित धमाधम देश छाड्दैछन्।

हसिना सरकारका शिक्षामन्त्री मोहिबुल हसन चौधरी र ग्रामीण विकासमन्त्री मोहम्मद ताजुल इस्लाम परिवारका धेरै सदस्यसहित देश छाडेर भागेको त्यहाँको समाचार पत्र डेलि स्टारले लेखेको छ।

यसबाहेक पूर्व अर्थमन्त्री अबुल हसन महमूद अली, खेलकुदमन्त्री नजमुल हसन पापोन र ढाका दक्षिण नगर निगमका मेयर शेख फजल नूर तपोस, मुन्सीगञ्ज-३ का पूर्व सांसद मृणाल कान्ति दास र सर्वोच्च अदालतका न्यायाधीश मोहम्मद बद्रुज्जमानले पनि देश छाडेका छन्।

मंगलबार बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट हिरासतमा लिइएको थियो।यसअघि पूर्व सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो।

हसिनालाई गिरफ्तार गरेर बंगलादेश पठाउन अपील
बंगलादेशको सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष ए.एम. महबूब उद्दिन खोकनले भारतसँग शेख हसिनालाई गिरफ्तार गरेर बंगलादेश पठाउन अपील गरेका छन्।

बंगलादेशी सञ्चार संस्था डेली स्टारसँग कुरा गर्दै उनले आफूहरूले भारतसँग राम्रो सम्बन्ध राख्न चाहेको स्पष्ट पारे।

उनले भने, ‘हामी भारतसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ। कृपया शेख हसिना र उनकी बहिनीलाई पक्राउ गरी बंगलादेश पठाउनुहोस्। उनी हत्यारा हो। हसिनाले बंगलादेशमा धेरै मानिसको हत्या गरेकी छन्।’

खोकन विपक्षी दल बीएनपीका महासचिव हुन्।

साउन २२, २०८१ बुधबार ०७:५५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।