काभा महिला भलिबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै
काठमाडौं : काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाल र भारतको फाइनल भिडन्त दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ।
घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको हो।
त्यसअघि भारतले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।
लिग चरणमा भएको इरानसँगको पराजयको बदला नेपालले सेमिफाइनलमा लिएको हो। लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो।
समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। उक्त भेटको पहिलो सेट नेपालले २५-१८ ले जितेको थियो।
खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट मा नेपालले भारतलाई २५-१७ ले पाखा लगाएको थियो।
चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५-१३ ले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो।
समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ फाइनल भिडन्तका लागि मैदान उत्रने छ।
साउन २३, २०८१ बुधबार ०७:४२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।