चार वटा संसदीय समितिको बैठक बस्दै

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं : संघीय संसद अन्तर्गत बुधबार चार वटा संसदीय समितिको बैठक बस्दैछ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानून, न्याय तथा मानवअधिकार समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

त्यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ।

बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ। यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा नेपालको अधिकांश ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, निलगाई लगायत जंगली जनावरबाट कृषि बालीमा भइरहेको क्षति, मानव वस्तीमा भइरहेको अतिक्रमण र बाघ, भालु, हात्तीलगायतका जनावरको आक्रमणबाट मानिसको ज्यानै लिने गरी मानव जनधनमा भइरहेको अपूरणीय क्षतिका सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ।

पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

साउन २२, २०८१ बुधबार ०७:२८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।