प्रचण्डलाई प्रश्न : तपाईंको उथलपुथलले कार्यकर्ता रिसाएका छैनन् ?

प्रचण्डलाई प्रश्न : तपाईंको उथलपुथलले कार्यकर्ता रिसाएका छैनन् ?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले अवसर दिएकाले अब सङ्गठन सुदृढ गरेर जनतामा जाने बताएका छन्। 

मंगलबार विराटनगरमा माओवादी केन्द्र कोशी प्रदेश कमिटीको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीलाई अगाडि बढाउन सबैमा एकमत रहेको र अब पार्टीकै काममा लागिपर्ने बताए। 

अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने ‘हेर्दै जानुस् न अरु के–के हुन्छ।’

त्यसक्रममा सञ्चारकर्मीले उनलाई उथलपुथल भन्दै कहिले यता कहिले उता गर्दा कार्यकर्ता असन्तुष्ट भएनन् भन्ने प्रश्न गरेका थिए। जबाफमा उनले आफ्ना कदमले पार्टीभित्र कुनै असन्तुष्टि र समस्या नभएको दाबी गरे।

उनले भने ‘राम्रो काम गर्दा किन असन्तुष्टि। नराम्रो काम गर्दा पो असन्तुष्टि हुन्छ त।’

आफ्नो कदमले पार्टीभित्र अहिलेसम्म असन्तुष्टि नरहेको र अब पनि असन्तुष्टि हुने कुरै नआउने उनको तर्क छ।  


सत्ताबाट बाहिर पुगेपछि अब पार्टी निर्माणको लागि जनताको कुरा सुन्न आफू देशव्यापी रुपमा हिँड्ने उद्घोष गरेका अध्यक्ष प्रचण्ड आज विराटनगरमा पुगे।

त्यहाँ उनी कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठकमा सहभागी भएका हुन्।

त्यसअघि उनले पार्टी पदाधिकारी बैठकमा भनेका थिए, ‘हाम्रो जनतासँगको कडी टुटेको छ, म देशैभरि एक पटक जनतासँग एकाकार हुन, सुखदुःखको कुरा सुन्न जान्छु।’

साउन २१, २०८१ मंगलबार २१:३१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।