भागबण्डा मिलाउँदा मिलाउँदै २० सदस्यीय पुग्यो मधेशको मन्त्रिपरिषद, राज्यमन्त्री मात्रै ८ जना
काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले थप ५ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन्।
मंगलबार उनले नेपाली कांग्रेसबाट २, जनमत, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट १-१ जना गरी पाँच राज्यमन्त्री नियुक्त गरे।
कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री, एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन्।
योसँगै मधेश सरकारको मन्त्रिपरिषद २० सदस्यीय बनेको छ। यो अहिलेसम्मकै ठूलो आकारको मन्त्रिपरिषद हो।
केन्द्रीय सत्ता गठबन्धनअनुसार बनेको मधेश सरकारमा कांग्रेस-एमालेसहित मधेशी दलहरू पनि सहभागी भएपछि मुख्यमन्त्री सिंहलाई भागबण्डा गराउन सकस परिरहेको थियो। त्यहीक्रममा उनले एकैपटक ५ जना राज्यमन्त्री नियुक्त गरे।
मधेशमा १२ मन्त्रालय छ। जनमतले मुख्यमन्त्री बाहेक २, कांग्रेस र एमालेले ४-४ र लोसपाले एक मन्त्रालय सम्हालेको छ। यसअघि नै एमालेका २ र जनमतका एक राज्यमन्त्री नियुक्त भइसकेका थिए।
साउन २२, २०८१ मंगलबार २१:०४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।