हसिनाले देश छाडिन्!, त्यसपछि पनि प्रदर्शनकारीले अस्वाभाविक हर्कत देखाइरहे

हसिनाले देश छाडिन्!, त्यसपछि पनि प्रदर्शनकारीले अस्वाभाविक हर्कत देखाइरहे

एजेन्सी : बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि प्रदर्शनकारीहरूले देशका विभिन्न स्थानमा अस्वाभाविक हर्कत देखाए। प्रदर्शनकारीहरूले देखाएको अस्वाभाविक व्यवहारको तस्वीरहरु सामाजिक संजालमा भाइरल भएका छन्। 

जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ भने देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र हिंसात्मक घटना रोकिएका छैनन्। हसिनालाई ४५ मिनेटभित्र राजीनामा दिएर देश छाड्न चेतावनी दिएका प्रदर्शनकारीले मंगलबार पनि ठाउँ ठाउँमा अराजक व्यवहार प्रदर्शन गरे।

राजधानी ढाकाका कैयौं क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय मिडियाहरुले जनाएका छन्। त्यस्तै प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट गरेको रिपोर्टमा उल्लेख छ।

सोमबार कैयौं प्रहरी चौकीमा आक्रमण भएको थियो र धेरै ठाउँमा आक्रोशित भीडले प्रहरीसँग झडप गरेका थिए। कतिपय प्रहरी चौकीबाट प्रहरी भागेका थिए।

प्रहरी चौकी भित्रबाट पंखा, कुर्सी, टेबुललगायत सबै प्रकारका सामान लुटिएको थियो। सुरक्षा संकटका कारण प्रहरी चौकीमा ड्युटीमा रहेका प्रहरीहरू आइतबार नै प्रहरी चौकी छाडेर सुरक्षित स्थानमा गए। 

उत्तेजित समूहले प्रधानमन्त्री निवासभित्रबाट छिरेर थुप्रै सामान चोरी समेत गरे। प्रधानमन्त्री बस्ने कुर्सीदेखि सोफा, पंखा, फ्रिज, लत्ताकपडा, भाँडाकुँडा लगायत थुप्रै सामानको चोरी गरेका छन्। मिडियामा आएका भिडियोहरूमा सेख हसिनाको सारी लगाएर प्रदर्शनकारीले फोटोसुट पनि गरेका देखिन्थे। 

केहीले भने उनका निजी कपडाहरू पनि उठाएको भिडियोमा देखिन्छ। सरकारले प्रदर्शन दबाउन प्रयास गरेपछि आन्दोलन थप हिंसात्मक बन्दै गएको स्थानीय मिडियाहरुले जनाएका छन्। 

सेनाले देशको शासन आफ्नो हातमा लिएपनि प्रदर्शनकारी शान्त बनेका छैनन्। 

प्रदर्शनकारी बंगलादेशको संसद, प्रधानमन्त्री निवाससहित कैयौं सरकारी भवनमा प्रवेश गरेर उदण्ड मच्चाउँदा सेना मुकदर्शक बनेको आरोप लागिरहेको छ। 

साउन २१, २०८१ मंगलबार १९:१९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।