'आज र भोलि भारी वर्षा हुनसक्छ, ३४ जिल्ला जोखिमपूर्ण छन्, सतर्क रहनू'

'आज र भोलि भारी वर्षा हुनसक्छ, ३४ जिल्ला जोखिमपूर्ण छन्, सतर्क रहनू'

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै उच्च सतर्कताका अपनाउन आग्रह गरेको छ। 

मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले आज र भोलि देशका ३४ जिल्लामा बाढीपहिरोको उच्च जोखिम रहेकोले ती जिल्लामा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। 

जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने जनाएको छ।

यसैलाई मध्येनजर गर्दै प्राधिकरणले भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न भनेको छ। 

प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेको जिल्लामा रात्रिकालीन बस नचलाउन पनि अनुरोध गरेको छ।

प्राधिकरणका अनुसार उच्च जोखिममा रहेका जिल्लाहरूमा कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम छन् भने बागमती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा छन्। 

त्यसैगरी गण्डकीमा म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा उच्च जोखिममा छन्। 

लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम उच्च जोखिममा छन्। 

सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा रहेको प्राधिकरणले जनाएको छ।  

साउन २१, २०८१ मंगलबार १८:३०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।