स्थानीय तहमा रिक्त ३४ पदको उपनिर्वाचन मंसिरमा गर्न सुझाव

स्थानीय तहमा रिक्त ३४ पदको उपनिर्वाचन मंसिरमा गर्न सुझाव

काठमाडौं : गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजानुपर्ने बताए।

उनले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव संसदमा आफूले बोक्ने प्रतिबद्धता व्यक्त गरे। 

‘त्यसलाई संसदमा म यो बोक्छु। यसलाई पारित गरौँ। यसमा मेरो प्रतिबद्धता छ। जति सक्दो चाँडो ल्याउनुहोस्। केही कुरा टुंग्याउन बाँकी छ भने संसदले नै टुंग्याउछ,’ उनले भने।

आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्ने पाउने गरी प्रस्ताव तयार पार्ने गृहमन्त्री लेखकको आग्रह छ। 

उनले नेपाली कांग्रेस र एमालेबीच राजनीतिक समीकरण निर्माण गर्दा संविधान संशोधन गर्ने सहमति भएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप सुदुढ गर्ने गरी अगाडि बढ्ने बताए। 

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिरमा गर्नुपर्ने उनको भनाइ छ। 

‘मंसिर धेरै टाढा पनि छैन। निर्णय चाँडै गरौँ। यसका लागि सरकार सहजीकरण गर्न तयार छ,’ गृहमन्त्री लेखकले भने।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहमा ३४ पद रिक्त रहेका बताए। 

उनका अनुसार नगरप्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष २, वडाध्यक्ष २८ को पद रिक्त छ। 

साउन २१, २०८१ मंगलबार १७:१८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।