बच्चादेखि प्रौढसम्म रमाउने ठाउँ बन्दै छ खुल्ला व्यायामशाला (भिडियो कथा)

काठमाडौँ : काठमाडौँ गौरीघाट नजिक बस्ने निरा पाठक भण्डारी अहिले नियमित रूपमा गौरीघाट बागमती नदी किनारमा पुग्छिन्। उनी श्रीमानसँगै त्यहाँ जानुको कारण हो शारीरिक तन्दुरुस्ती।

काठमाडौँ महानगरपालिका वडा नम्बर ७ ले बागमती नदी किनार गुह्येश्वरी मन्दिर पारी शारीरिक कसरतका लागि खुल्ला व्यायामशाला बनाएको छ। उनी नियमित त्यहीँ पुग्छिन् र शारीरिक कसरत गर्छिन्।

त्यही भेटिएकी उनले भनिन्, ‘जीवनमा ठुलो परिवर्तन अनुभव गरिरहेकी छु।’

बागमती किनारामा निरा र उनका श्रीमानसँगै अन्य स्थानीयहरू पनि ज्यान तन्काइरहेका थिए। त्यहाँ महानगरले साइक्लिङ लगायतका विविध उपकरण राखेको छ जसबाट शारीरिक तन्दुरुस्ती बनाउन सघाउन सक्छ।

OOO

शारीरिक तन्दुरुस्ती कायम गर्न जिम, जुम्बा या योगा कसैका लागि नियमित जीवनशैली त कसैका लागि शौक पनि हो। विशेष शहरी क्षेत्रमा शारीरिक परिश्रम लाग्नेभन्दा बसेर गर्ने कामको शैली बढेसँगै शारीरिक तन्दुरुस्तीका लागि व्यायामशाला धाउनेहरूको सङ्ख्या बढिरहेको छ।

केही दशक अगाडिसम्म विशेषगरी काठमाडौँका टोलैपिच्छे क्लबसँगै व्यायामशाला खोल्ने क्रम पनि खूब बढेको थियो। तर अहिले क्लब पनि हराए अनि सामुदायिक व्यायामशाला पनि हराए।

त्यसको विकल्पमा अहिले टोलैपिच्छे निश्चित शुल्क लिएर व्यायाम गर्ने आधुनिक व्यायामशालाहरू खुलिरहेका छन्। तर शुल्क सबैको पहुँचयोग्य छैनन्। त्यसको विकल्पमा पछिल्लो समय स्थानीय तहले गौरीघाटमा जस्तै वडापिच्छे खुल्ला व्यायामशाला स्थापना गर्ने क्रम बढेको छ।

श:शुल्क व्यायामशालामा प्राय आधुनिक उपकरणहरू हुन्छन्। खुल्ला स्थानमा जडान गरिने भएकाले प्राय खुल्ला स्थानका उपकरणहरू भने म्यानुअल्ली चलाउनुपर्ने छन्। उपकरण राखे पनि कुनको प्रयोग के का लागि गर्ने भन्ने सबैलाई ज्ञान नहुँदा व्यायाम गर्नेहरू अलमलमा परेको देखिन्छ। यस्ता उपकरण राखिएको स्थानमा कमसेकम प्रयोग गर्ने तरिका र यसको फाइदा उल्लेख गरिएको बोर्ड राख्ने हो भने प्रयोगकर्ताहरूले थप फाइदा पाउने देखिन्छ।

बाँकी भिडियो कथामा हेरौँ :

साउन २१, २०८१ मंगलबार १६:४२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।