सिमलताल दुर्घटनामा २ वटा बस र यात्रुलाई भेलबाढीले बगाएको अध्ययन कार्यदलको निष्कर्ष

सिमलताल दुर्घटनामा २ वटा बस र यात्रुलाई भेलबाढीले बगाएको अध्ययन कार्यदलको निष्कर्ष

काठमाडौं : गृहमन्त्री रमेश लेखकले त्रिशुलीमा बस दुर्घटनाबारे छलफल गर्न बनेको अध्ययन समितिको प्रतिवेदनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएका छन्। 

मंगलबार त्रिशुलीमा भएको बस दुर्घटनाबारे मन्त्रालयमा भएको छलफलमा उनले भने, ‘त्रिशुलीमा भएको बस दुर्घटनाबारे छलफल गर्न बनेको समितिको प्रतिवेदन प्राप्त भएको छ। प्रतिवेदनलाई पनि अध्ययन गरेर यसमा उल्लेख भएका जतिपनि सुझावहरू छन् तिनीहरूलाई सम्बन्धित निकायलाई पठाउने र त्यसको कार्यान्वयन गराइने छ।’

अध्ययन कार्यदलले चितवनको सिमलतालमा भएको दुर्घटनामा भेलबाढीले दुई वटा बस बगाएको निष्कर्ष निकालेको छ।

गृहमन्त्री रमेश लेखकलाई बुझाएको उक्त प्रतिवेदनमा दुर्घटनास्थल माथिको भिरालो पहाडी क्षेत्रमा उचित इन्जिनियरिङबिना नै सिमलताल–बांगेसाल–डुम्रेगाउँ जाने बाटो हालै खनिएको र सडक खन्दा निस्किएको माटो जथाभावी फाल्दा त्यसले भेलबाढी उत्पन्न गराएको निष्कर्ष छ।

असार २८ मा बिहान मुग्लिन-नारायणघाट सडकअन्तर्गत सिमलतालमा पहिरोसँगै आएको लेदोले बगाएर दुई वटा यात्रुवाहक बस त्रिशूलीमा पुर्याएको थियो। दुवै बसमा गरेर ६५ यात्रु थिए। ६५ मध्ये ३ जना यात्रु पौडिएर नदीबाट बाहिरिए बाँचेका थिए। ६३ जना खोलामा हराएकोमा २४ जनाको शव विभिन्न स्थानमा भेटिएको थियो।

अहिले पनि २९ जना यात्रु दुई वटा बससँगै हराइरहेका छन्। 

घटना छानबिन गर्न गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकतत्वमा ६ सदस्यीय अध्ययन कार्यदल बनाइएको थियो।

कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी छन्। 

साउन २१, २०८१ मंगलबार १६:४२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।