प्रधानमन्त्रीले फेरि दोहोर्याए : सरकारले भ्रष्टाचारीको अनुहार हेर्दैन, कसैलाई छाड्दैन

प्रधानमन्त्रीले फेरि दोहोर्याए : सरकारले भ्रष्टाचारीको अनुहार हेर्दैन, कसैलाई छाड्दैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम नगर्ने दाबी गरेका छन्। 

मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको लागि भएकोले भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने बताए। 

उनले भने, ‘भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज गर्दैन। कसैले कसुर गर्यो भने मुख हेरेर अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले गर्दैन। अर्को कुरा अहिलेको सरकार प्रतिशोधका लागि होइन, अर्थतन्त्रमा र समाज सुधार एवम विकासको गति ल्याउनको लागि हो। त्यसैले कसैले भ्रष्टाचार गर्यो भने अनुहार पनि हेरिर्दैन। कोही उम्किन पनि पाउँदैन।’

उनले कर महशुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भनेर तदअनुसार नै भ्रष्टाचारको रुपहरू पहिचान गर्ने काम सरकारले गरिरहेको बताए। 

उनले भने, ‘करको दर बढाएर, मात्रा र दायरा फराकिलो बनाएर पनि हुँदैन। कर महसुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भन्ने कुरा सरकारले बुझेको छ। तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको छ।’

यसअघि ०७४ मा दोस्रोपटक प्रधानमन्त्री बनेका ओलीले 'सरकारले भ्रष्टाचारीको मुख पनि नहेर्ने' अभिव्यक्ति दिएका थिए। तर, त्यसलगत्तै उनी नेतृत्वको सरकारका मन्त्रीहरू एकपछि अर्को गर्दै भ्रष्टाचारका प्रकरणमा मुछिएका थिए। 

त्यसयता पछिल्लोपटक कांग्रेस-एमालेको गठबन्धनबाट प्रधानमन्त्री बनेका ओलीले पटकपटक सार्वजनिक अभिव्यक्तिहरूमा भ्रष्टाचारीको अनुहार नहेर्ने बताउँदै आएका छन्।  

साउन २१, २०८१ मंगलबार १५:४७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।