हसिनालाई सत्ताच्युत गराउने २६ वर्षे विद्यार्थी इश्लाम को हुन् ?

हसिनालाई सत्ताच्युत गराउने २६ वर्षे विद्यार्थी इश्लाम को हुन् ?

एजेन्सी : को हुन् नहिद इश्लाम? जसले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई १५ वर्ष लामो सत्ताबाट हटाउने आन्दोलनको नेतृत्व गरे। 

२६ वर्षिय इश्लाम ढाका विश्वविद्यालयमा सोसियोलोजीका विद्यार्थी हुन्। उनले ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेसन मुभमेन्ट’को राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै आएका थिए।

उनकै नेतृत्वमा आरक्षण विरोधी आन्दोलन बंगलादेशमा सुरू भएकोमा सो आन्दोलन पछि प्रधानमन्त्रीको राजीनामामा केन्द्रित भएको थियो। उनलाई १९ जुलाई २०२४ को मध्यरातमा कम्तीमा २५ जनाको एउटा समूहले  ढाकाको सबुजबागस्थित घरबाट समातेर अज्ञातस्थलमा लगेर विद्यार्थी आन्दोलन सुरू गर्नुको कारणबारेमा सोधेको थियो। 

उनलाई पूर्वाकाल्फको पुल मुनि २१ जुलाई २०२४ मा अचेत अवस्थामा भेटिएको थियो। उनलाई २६ जुलाईमा गोनोशास्थ्य नगर अस्पतालमा प्रहरीले लगेको जनाइएको छ। 

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो जसमा वर्दी लगाएका केही व्यक्तिहरूले इस्लामलाई कारमा राखेको देखिन्छ। विद्यार्थी नेता इस्लाम बेपत्ता भएको २४ घण्टापछि पुलमुनि अचेत अवस्थामा फेला परेका थिए। बेहोस नभएसम्म आफूलाई फलामको रडले कुटपिट गरिएको उनको आरोप छ। 

प्रहरीले भने यसलाई अस्वीकार गरेको छ।

२६ जुलाईमा डिटेक्टिभ ब्रान्चले नाहिदलाई उपचारको क्रममा अस्पतालबाट फेरि गिरफ्तार गरेको थियो । डिटेक्टिभ शाखाले सुरक्षाको कारणले नाहिद र उनका सहयोगीलाई हिरासतमा राखेको बताएको थियो। 

अस्कर टाउकोमा बंगलादेशको झण्डा बाँधेको अवस्थामा देखिने इश्लाम नरम रुपमा बोल्ने गर्दछन्। 

उनले मंगलबार मात्रै सेनाले गर्ने सरकारको नेतृत्व स्वीकार नगर्ने भन्दै नोवेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई सरकार प्रमुख बनाउनुपर्ने माग राखेका छन्।

उनले सोमबार विद्यार्थीहरूलाई सम्बोधन गर्दै आफूहरूले आफूहरूको कारणले रगत बगाउने शहिदहरूलाई धोका नदिने बताएका थिए।

उनले आइतबार विज्ञप्ति निकालेर भनेका थिए, 'आज हामीले लाठी उठाएका छौं, यदि लाठीले काम गरेन भने हतियार पनि उठाउन तयार छौँ। प्रधानमन्त्री हसिना देशलाई गृहयुद्धमा धकेल्न चाहन्छिन्। अब शेख हसिनाले निर्णय गर्नुपर्छ, उनले पदबाट राजीनामा दिने कि पदमा रहन रक्तपातको सहारा लिने।'

१९९८ मा ढाकामा जन्मेका उनी विवाहित हुन् र एक जना भाइ नकिव पनि छन्। उनका बाबु शिक्षक हुन् भने आमा ‘होममेकर’ हुन्। 

उनको नेतृत्वको आन्दोलनका क्रममा बंगलादेशमा करिब ३०० जनाको मृत्यु भएको छ।  

साउन २१, २०८१ मंगलबार १५:२१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।