सेयर बजार एकै दिन १ सय ४५ अंकले झर्नुको कारण सांसदको आलोचना कि बङ्गलादेश प्रभाव ?

सेयर बजार एकै दिन १ सय ४५ अंकले झर्नुको कारण सांसदको आलोचना कि बङ्गलादेश प्रभाव ?

काठमाडौँ : निरन्तर उकालो लागिरहेको नेपालको सेयर बजारमा मङ्गलवार एकाएक पहिरो नै गयो। एकै दिन नेप्से परिसूचक एक सय ४५ अङ्कले झर्दै २६ सय ५१ विन्दुमा बजार बन्द भयो।  

मङ्गलवार २ हजार ८ सय २ अङ्कबाट बाट बजार खुलेको थियो। कारोबार बढ्दै जाँदा नेप्से इन्डेक्स २ हजार ८ सय १५ सम्म पुगेको पनि थियो। तर बजार बन्द हुँदा एक सय ५५.१९ विन्दु तल झरेर २ हजार ६ सय ५१.३२ मा बजार बन्द भयो।

एकै दिन नेप्से परिसूचक ५.१८ प्रतिशतले घटेर निरन्तर बढ्दा उत्साहित लगानीकर्ताहरूलाई झड्का दियो। कुल कारोबार रकममा भने त्यति धेरै फेरबदल भएन। मङ्गलवार नेप्से परिसूचक एक सय ३५.१९ अङ्कले गिर्दा पनि कारोबार रकममा भने नयाँ रेकर्ड बन्यो। मङ्गलवार दिनभरमा २३ अर्ब ७१ करोड माथिको कारोबार भयो।

सोमबार बङ्गलादेशमा राजनीतिक उथलपुथल भयो। नेतृ शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देशै छाडेर भागिन्। यता नेपालमा सोमबारको प्रतिनिधि सभा बैठकमा पूर्व अर्थमन्त्री प्रकाश शरण महतदेखि स्वतन्त्र सांसद अमरेशकुमार सिंहसम्मले कृत्रिम रूपमा सेयरको मूल्य बढाउने काम भएको दाबी गरेका थिए।

अमरेशले त केही कम्पनी र लगानीकर्ताहरूको नामै लिएर उनीहरूको शेयरको मूल्य कसरी बढिरहेको छ त्यसबारे छानबिन हुनुपर्ने माग गरेका थिए। उनले शेयर बजारमा साना र नयाँ लगानीकर्ताहरूलाई कर्नरिङमा पार्ने काम भइरहेको दाबी समेत गरेका थिए।

मङ्गलवारको सेयर बजार एकै दिन सय भन्दा माथिको अङ्कमा झरेर बजार बन्द हुनुको कारण बंगलादेशको राजनीतिक सङ्कटको प्रभाव हो या सांसदहरूले संसद्मा गरेको शेयर बजारप्रतिको खबरदारी प्रस्ट छैन।

एमाले र कांग्रेसको नेतृत्वमा सरकार गठन हुने चर्चा सुरु भएदेखि नै नेपाली सेयर बजार बढ्न सुरु भएको थियो। एकै दिन दुई पटकसम्म सकारात्मक सर्किट समेत लागे पनि जस्ता कम्पनीको सेयर आकासिएका थिए उनीहरूको वित्तीय अवस्था भने निकै कमजोर थियो।

सेयर बजारमा सकारात्मक प्रभाव पार्ने कुनै नीतिगत निर्णय नहुँदा पनि निरन्तर बजार आकासिँदा कतै चलखेल भएको त हैन भन्ने शङ्का बढाउने नै भयो। यही बिचमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्यायो। त्यसमा सेयर बजारमा सकारात्मक प्रभाव पार्ने नीतिहरू धेरै नभए पनि संस्थागत लगानीकर्ताहरूको ऋणको हकमा लागु भएको २० करोडको सीमा हट्दा केही मात्रामा बजारमा सकारात्मक सन्देश जाने नै भयो।

बजारले निरन्तर सकारात्मक बाटो नै समातेको थियो। तर मङ्गलवार भने थाम्नै नसक्ने पहिरो नै गयो।

आठ कम्पनीका लगानीकर्ताले कमाउँदा २ सय ३३ ले गुमाए

मंगलबारको कारोबारमा जम्मा आठ कम्पनीको मात्र सेयर मुल्य बढ्यो। बाँकी २ सय ३३ वटै कम्पनीको शेयर मुल्य घट्यो।मंगलबार १३ वटै उपसमूहको परिसूचक घट्यो। वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ८ प्रतिशतभन्दा बढी घट्यो। लगानी र जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी घट्यो। बैंकिङ्ग, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घट्यो।

मंगलबार थ्रिस्टार हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य पनि करिब १० प्रतिशत बढ्यो। अन्य ६ कम्पनीको शेयर ४ प्रतिशतभन्दा कमै बढ्यो।

मंगलबार नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, शुभम पावर, हाथवे इन्भेष्टमेन्ट र ओरियन्टल होटलको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। नेपाल रि इन्स्योरेन्सको ४८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भयो। सिईडिबी हाइड्रोपावरको ४३ करोडभन्दा बढीको शेयर खरिदविक्री भयो। 

साउन २२, २०८१ मंगलबार १५:१६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।