हसिना आफ्नो शरणमा आएपछि के गर्दैछ भारत ?

हसिना आफ्नो शरणमा आएपछि के गर्दैछ भारत ?

एजेन्सी : बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर भारतमा शरण लिन पुगेपछि उक्त घट्नाको विषयलाई लिएर भारतले विशेष चासो दिएको छ।

विद्यार्थी आन्दोलनका कारण देश नै छाड्नुपर्ने अवस्था आएपछि भारतीय प्रधानमन्त्रीकी निकट मानिएकी शेख हसिनासँग मोदीका केही सल्लाहकारहरूले सोमबार नै भेट गरिसकेको भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्। तर, भेटमा के गफ भयो भन्नेबारे सार्वजनिक गरिएको छैन। 

बंगलादेशमा बढ्दो राजनीतिक अस्थिरतालाई लिएर भारतमा मंगलबार सर्वदलीय बैठक पनि बसेको छ।

बैठकमा भारतका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, संसदीय मामिलामन्त्री किरण रिजिजुलगायत विपक्षी नेता राहुल गान्धी सहभागी भएको खबर इन्डिया एक्सप्रेसले लेखेको छ। घटनाबारे बैठकमा विदेशमन्त्री जयशंकरले ‘ब्रिफिङ’ गरेका थिए।

सोमबारै राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा क्याबिनेट कमिटी अन सेक्युरिटीको बैठक पनि बसेको थियो। बैठकमा बंगलादेशको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो। सोमबार साँझ नै हसिनासँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेटेका थिए।

हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर सोमबार साँझ ५ः३६ बजे भारत आइपुगेको र गाजियाबादको हिन्डन एयरबेसमा सेफ हाउसमा रहेको जनाइएको छ। 

दुई दशक सत्तामा हुँदा हसिनाले भारतसँग असल मित्रको भूमिका निर्वाह गरेकी थिइन्। तर, हसिना सत्ताच्यूत भएपछि भारतलाई बंगलादेशसँग नयाँ मित्रता अघि बढाउन कठिन हुने अनुमान गरिएको छ।

साउन २१, २०८१ मंगलबार १४:४५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।