बंगलादेशको सङ्कट : कारण विद्यार्थी आन्दोलन कि विदेशी शक्तिको खेल पनि ?

बंगलादेशको सङ्कट : कारण विद्यार्थी आन्दोलन कि विदेशी शक्तिको खेल पनि ?

एजेन्सी : बङ्गलादेशमा पछिल्लो केही समयदेखि शेख हसिनाको नेतृत्वको सरकारका लागि सुखद भइरहेको थिएन। स्वदेशमा उनी विपक्षी दलहरूको दबाबमा थिइन् भने सरकारको विरोधमा प्रदर्शनहरू भइरहेका थिए।

विदेशी मोर्चामा पनि भारत र चीनबिच सन्तुलन मिलाउन सकिरहेकी थिइनन् उनले। उनी गत महिना चीनको भ्रमणमा जाँदा भ्रमणको अवधि अगाडि नै स्वदेश फर्किएकी थिइन्। हसिना जे सोचेर चीन गएकी थिइन् त्यसको सङ्केत देखिनन्।

बङ्गलादेशका लागि भारतकी पूर्व उच्चायुक्त वीना सीकरी चीनमा शेख हसिनालाई उचित सम्मान नदिएको र सी जिनपिङसँग बैठक हुन नसकेपछि फर्किएको बताउँछिन्।

‘चीन सरकारले अन्ततः के सोचेर यस्तो गर्यो यो बुझ्न सकिँदैन। चीन सरकारले बङ्गलादेश सरकारसँग मैत्रीपूर्ण सम्बन्ध देखाइरहेको थियो बयानहरू त्यस्तै दिइरहेको थियो’ उनले भनिन्।

उनी चीनबाट फर्किएपछि उनले टिस्टा परियोजनामा भारत र चीन दुवैको चासो भए पनि यो भारतले पूरा गरोस् भन्ने चाहेको बयान दिइन्। यो भारतका लागि ठुलो घोषणा थियो भने चीनका लागि धक्का।

यसले हसिनाको भारत र चीनसँगको सम्बन्धबारे बङ्गलादेशमा प्रश्नहरू उठ्न थालेका थिए। विवाद बढ्दै गएपछि उनले भारत र चीन दुवै देशसँग आफ्नो राम्रो सम्बन्ध रहेको स्पष्टिकरण दिनुपरेको थियो।

राजनीतिमा उथलपुथल

हसिनाको भारत र चीनबारे बयान दिएको एक महिना पनि भएको छैन, उनी सत्ताबाट मात्रै हैन देशैबाट बाहिरिइन्। आरक्षणमाथि चलिरहेको प्रदर्शनले राष्ट्रव्यापी आन्दोलनको आकार लिएपछि उनी प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्न बाध्य भइन्। उनी सैनिक विमानबाट भारत पुगिन्। बङ्गलादेशमा सेना प्रमुख जनरल वकारले अन्तरिम सरकार गठनको घोषणा गरे पनि गठन गर्न सकेका छैनन्।

कारण विद्यार्थी आन्दोलन कि विदेशी शक्तिको खेल ?

बङ्गलादेशमा भएको उथलपुथलको कारण केबल आरक्षणको विरोधमा भएको प्रदर्शन मात्र हो त! बहस सुरु भइरहेका छन्। सामाजिक सञ्जालमा बङ्गलादेशमा जे भयो, त्यसको पछाडि विदेशी शक्तिहरू पनि हुनसक्नेबारे बहस भइरहेका छन्।

बङ्गलादेशका लागि भारतको पूर्व उच्चायुक्त वीना सीकरी यो परिवर्तनमा विदेशी शक्तिहरू संलग्न छैनन् भन्न नसकिने बताउँछिन्। आरक्षणमा सुधारको मागबाट सुरु भएको आन्दोलनको स्वरूप जसरी बदलियो त्यसले केवल विद्यार्थी आन्दोलनको बलमा मात्र यो परिवर्तन भएको हो भन्न नसकिने उनको मत देखियो।

बङ्गलादेशका लागि भारतका पूर्व उच्चायुक्त हर्ष वृंगला पनि बंगलादेशको हितको विपरीत र स्पष्ट रूपमा भारतको सुरक्षा हितको विरुद्धमा रहेका विदेशी शक्तिहरू संलग्न रहेको विषयलाई अस्वीकार गर्न नसकिने बताए।

हर्ष वृंगला यो परिवर्तनको विविध कारणहरूमध्ये आर्थिक कारणलाई बढी जिम्मेवार मान्छन्। कोरोना महामारीपछि बंगलादेशको अर्थव्यवस्थामा ठुलो क्षति पुग्यो। युक्रेन सङ्कटका कारण आवश्यक वस्तुहरूको मूल्य वृद्धि भयो। इन्धन, खाद्यान्न, मल सबैको मूल्य बढ्दा नागरिक तहमा सरकारविरुद्ध अशन्तुष्टी बढेको उनको मत छ।

साउन २१, २०८१ मंगलबार १४:२७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।