कुलमान घिसिङमाथि कारबाही गरिए आन्दोलन गर्ने तामाङ मुक्ति मोर्चाको चेतावनी

कुलमान घिसिङमाथि कारबाही गरिए आन्दोलन गर्ने तामाङ मुक्ति मोर्चाको चेतावनी

काठमाडौं : तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले डेडिकेटेड र ट्रंकलाइन विवादमा उद्योगीहरूसँग बक्यौता उठाउन पहलकदमी लिइरहेको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरूको बाँकी बक्यौता असुल गर्ने सम्बन्धमा विकसित घट्नाक्रमबारे आफ्नो संगठनको ध्यानाकर्षण भएको भन्दै मोर्चाले विज्ञप्ति जारी गरेको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘विद्युत प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका कार्यकारी निर्देशक घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाएको खण्ड हाम्रो मोर्चा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ।’

कार्यकारी निर्देशक घिसिङले मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गर्दै विद्युत निर्यातबाट वैदेशिक मुद्रा आर्जन, विद्युत महशुल नतिर्ने उद्योगको झण्डै २२ अर्ब बक्यौता रकम असुलीको लागि चट्टानझैँ उभिएको मोर्चाको ठहर छ। 

मोर्चाले प्राधिकरणको तिर्न बाँकी बक्यौता उद्योगीहरूले नतिरेसम्म विद्युत उपभोग गरिरहेका आम नागरिकले समेत कुनै पनि बक्यौता नतिरीकन आफूहरूको आन्दोलनमा ऐक्यबद्धता जनाइदिनका लागि अपिल पनि गरेको छ।

साउन २१, २०८१ मंगलबार १४:२५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।