अन्तरिम सरकार गठनका सम्बन्धमा बोल्यो बंगलादेशको विपक्षी दल

अन्तरिम सरकार गठनका सम्बन्धमा बोल्यो बंगलादेशको विपक्षी दल

एजेन्सी : अन्तरिम सरकार गठनको सम्बन्धमा बंगलादेशको विपक्षी पार्टीले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएको छ।

विपक्षी पार्टी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले मंगलबार दिउँसो दुई बजेसम्म अन्तरिम सरकार गठन नभए देशमा राजनीतिक शून्यता पैदा हुने बताए।

मंगलबार ढाकामा भएको एक पत्रकार सम्मेलनमा बीएनपीका नेताहरूले आफ्नो तर्फबाट अन्तरिम सरकारका लागि अहिलेसम्म कुनै पनि नाम पेश नभएको बताए। राष्ट्रपतिको तर्फबाट मागिएको खण्डमा नाम पठाउने महासचिव आलमगीरको भनाइ छ।

आरक्षण विरोधी विद्यार्थी आन्दोलनको तर्फबाट नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नाम प्रस्ताव गरेको सन्दर्भमा बीएनपीको तर्फबाट यस्तो भनाइ आएको हो।

आफूहरूले पूर्ण भरोसा विद्यार्थीहरूमा रहेको भन्दै पार्टीलेसर्वदलीय सरकार गठनको जोडमा महत्व दिनुपर्नेमा जोड दिएको छ। पार्टीले तीन महिनाभित्र निर्वाचन गरेर सत्ता सुम्पन पनि आग्रह गरेका छन्।

महासचिव आलमगीरले पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानलाई देश फर्कन समेत आग्रह गर्दै बदलाको भावनाले सार्वजनिक संस्थानमा आक्रमण र लुटपाट मच्चाउनेहरू आन्दोलनरत विद्यार्थी नभएको बताएका छन्।

‘बदलाको भावनाले संस्थानहरूमाथि भइरहेको आक्रमण र लुटपाट रोक्न हामी सबैलाई आग्रह गर्दछौँ,’ उनले भने, ‘त्यसरी लुटपाट र आक्रमण गर्नेहरू आन्दोलनरत विद्यार्थी होइनन्।’

साउन २१, २०८१ मंगलबार १४:११:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।