छानबिनमा परेका एआइजी ज्ञवालीलाई सिआइबीबाट हटाउने तयारी, उपत्यका प्रहरी कार्यालयमा विवादित बज्राचार्यको नाम

छानबिनमा परेका एआइजी ज्ञवालीलाई सिआइबीबाट हटाउने तयारी, उपत्यका प्रहरी कार्यालयमा विवादित बज्राचार्यको नाम

काठमाडौँ : सरकारले आन्तरिक अनुसन्धानमा परेका एआइजी श्याम ज्ञवालीसहित तीन जना एआइजीको सरुवाको तयारी गरेको छ। सम्भवतः मङ्गलवार बस्ने मन्त्रिपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो, उपत्यका प्रहरी कार्यालय र कार्य विभागमा कार्यरत तीन एआइजीको सरुवाको निर्णय गर्नेछ।

गृह स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका एआईजी ज्ञवालीबारे प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएर छानबिन गरिरहेकाले उनलाई प्रहरी प्रधान कार्यालयमा लैजाने तयारी गरेको छ।

चेन अफ कमान्ड उलङ्घनसँगै ब्युरोको प्रमुखको रूपमा प्राप्त अधिकार दुरुपयोग गरेर केही अनुसन्धानमा आर्थिक लेनदेन समेत गरेको उजुरीका आधारमा ज्ञवालीबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरिसकेको छ। ज्ञवाली पाँच महिना अगाडि मात्रै ब्युरोमा गएका थिए।

गृहले तयार पारेको सरुवा प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएमा ब्युरोमा अहिले उपत्यका प्रहरी कार्यालयमा रहेका एआइजी दीपक थापा जानेछन्। उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई प्रमुख बनाउने तयारी छ। तर ब्युरो प्रमुखका रूपमा अनुसन्धानमा बदनियत राखेको र केही आर्थिक मामिलामा समेत जोडिएकाले उपत्यका प्रहरी कार्यालयमा आउने अधिकृतको नाम बदलिन पनि सक्छ। तर गृहमन्त्री रमेश लेखक भने बज्राचार्यकै पक्षमा देखिएका छन्।

बज्राचार्य ६० किलो सुनको अनुसन्धानकाक्रममा बदनियत राखेको भन्दै छानबिन आयोगले प्रतिवेदन बुझाएपछि ब्युरोबाट हटेर प्रहरी प्रधान कार्यालय पुगेकी थिइन्। उनीमाथि थप अनुसन्धान र कारबाही हुने दाबी गरिए पनि केही पनि भएन।

ब्युरोमा रहेका ज्ञवाली प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा हुन सक्छन्। कार्य विभागमा डिआइजीबाट एआईजीमा बढुवाका लागि सिफारिस भएका रामदत्त जोशीको पदस्थापन हुनसक्छ।

प्रहरी सङ्गठनमा एसपी तहसम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षकमा छ। एसएसपी र डिआइजीको बढुवाको अधिकार गृहमन्त्रीमा छ भने एआइजीको सरुवा मन्त्रिपरिषद्ले मात्र गर्न सक्छ।

साउन २१, २०८१ मंगलबार १३:५६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।