देशभरका १५ मुख्य राजमार्ग अवरुद्ध, पाँच वटा एकतर्फी सञ्चालन

देशभरका १५ मुख्य राजमार्ग अवरुद्ध, पाँच वटा एकतर्फी सञ्चालन

काठमाडौं : रातिदेखि परेको वर्षाका कारण देशभरको १५ राजमार्ग अवरुद्ध भएको छ।

१५ मध्ये पाँच वटा एकतर्फी रूपमा चल्न थालेको छ भने बाँकी १० वटा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कार्यालयका अुनसार कोशी प्रदेशको संखुवासभामा बाढी आउँदा उत्तर दक्षिण कोशी राजमार्ग र सुनसरीमा पहिरोका कारण चतरा-बराह क्षेत्र भित्री सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

मधेश प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका-५ माईस्थानमा बाढीका कारण पूर्वपश्चिम लाकेमार्ग अवरुद्ध भएर एकतर्फी रुपमा सुचारु भएको छ।

बागमती प्रदेशको दोलखामा बाढीका कारण कालिन्चोक गाउँपालिका-४ झामार्सीस्थित चरिकोट सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ।

यस्तै मकवानपुरमा पहिरोका कारण कान्ति लोकपथ सडक खण्डको भिमफेदी गाउँपालिका-८ कालोपहिरो र महादेवटारमा सडक अवरुद्ध छ। त्यस बाटोलाई एकतर्फी रुपमा सञ्चालन गरिएको छ।

उता सिन्धुपाल्चोकमा बाढीका कारण बलेफी गाउँपालिका-८ जुरेमा अरनिको राजमार्ग र मेलम्ची नगरपालिका-११ धितालबेशीमा मेलम्ची-जिरो किलो सडक अवरुद्ध भएकोमा एकर्फी सञ्चालन आएको छ।

गण्डकी प्रदेशको म्याग्दीको बेनी नगरपालिका-३ घुमाउने भिर, रघुगंगा गाउँपालिका-२ उपल्लो बैशरी र सोही गाउँपालिकाको वडा नम्बर १ मा रहेको बेगखोलाम गरी तीन ठाउँमा पहिरो गएको छ। जसकारण बेनी जोमसोम सडक खण्ड र बेनी दरवाङ सडक खण्ड पूर्ण अवरुद्ध भएको छ।

बागलुङको बागलुङ नगरपालिका-१० डव्ल्याङमा पहिरो जाँदा कालीगण्डी करिडोरको सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।

लुम्बिनीको प्यूठानस्थित नौबहिनी गाउँपालिका-१, हाम्पालमा पहिरोका कारण स्याउलीवाबाग्दुला सडक खण्ड अवरुद्ध भएको छ भने दाङको घोराही उपमहानगरपालिक-१६ सेवार खोलामा बाढी आउँदा घोराही तुलसीपुर सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन।

यस्तै कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठ बिसकोट नगरपालिका-११ खरखरेमा पहिरो जाँदा भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ।

साउन २१, २०८१ मंगलबार १२:३९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।