अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै टाइगर प्यालेस रिसोटमा पूर्व कर्मचारीहरू आन्दोलित
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ स्थित टाइगर प्यालेस रिसोटमा पूर्व कर्मचारीहरू आन्दोलित भएका छन्।
त्यहाँबाट निष्कासन गरिएका श्रमिकहरूले श्रम अदालतमा दिएको रिटमा हारिसकेको र श्रम अदालतले फैसला गरेको कार्यान्वयन गर्न गम्भीर नदेखिएको भन्दै कर्मचारी आन्दोलित भएका छन्।
उनीहरूले आइतबारदेखि गेटमा अनेश्चितकालीन धर्ना दिन सुरू गरेका छन्। रातभर पनि आन्दोलन जारी राख्ने भन्दै उनीहरू गेट नजिकै टेन्ट तयार गरेर डसनामै सुतेर आन्दोलन गरेका छन्।
अष्ट्रेलियन स्टक एक्सचेन्जमा सूचीकृत सिल्भर हेरिटेज समूहले ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याएको टाइगर वान प्रालि गत वर्ष गैरआवासी नेपालीहरूको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले खरिद गरेको थियो।
खरिद गर्दादेखि नै विवादमा परेको रिसोर्ट र त्यहाँ सञ्चालित क्यासिनोले मजदुरलाई पारिश्रमिक भुक्तानी नदिँदा अहिले पुर्व कर्मचारीहरू आन्दोलित भएका हुन्।
स्थायी कर्मचारीहरूलाई कोरोनाको कारण देखाएर बिना जानकारी पारिश्रमिक समेत नदिएर एकैपटक करिब चार सय श्रमिकहरूलाई कामबाट निकालेपछि विवादित बनेको ‘टाइगर प्यालेस रिसोट’विरुद्ध कर्मचारीले आन्दोलन सुरू गर्दै श्रमिकहरूसँग २०८० पुस १३ गते गरेको सम्झौता पत्रको कार्यान्वयनमा व्यवस्थापन पक्षले चासो नदिएको बताएका छन्।
तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा २०७४ सालदेखि रिसोर्ट तथा क्यासिनो सञ्चालन हुँदै आएको छ।
अदालतको आदेश, कानूनको धज्जी र मालपोत कार्यालयको रोक्कालाई बेवास्ता गरेर नेपाल बाहिर कारोबार तथा किनबेच गर्न सफल भएका अध्यक्ष सुवेदीले अनेकौं बहाना गरी सम्झौतालाई टार्ने र श्रमिकहरूको मागलाई कागजमा मात्रै सीमित राखेर व्यवहारमा लागू नगर्ने मनसाय अनुरुप अगाडि बढेको पीडित श्रमिकहरुले बताएका छन्।
श्रम अदालतले गरेको फैसला अनुसार क्षतिपूर्तिसहित प्रतिव्यक्ति १२ देखि १५ लाखसम्म कम्पनीले दिनुपर्ने भए पनि कर्मचारीहरूले कम्पनीको अवस्थालाई हेर्दै नयाँ व्यवस्थापन टिमसँग सम्झौता गर्दा प्रतिव्यक्ति राजीनामाको हकमा दुई लाख ७० हजार र पुनर्बहालीको हकमा १ लाख ६५ हजार दिनुपर्ने सहमति गरिएको संघर्ष समितिका संयोजक चित्रबहादुर भण्डारीले बताए।
राजीनामा दिएकाहरुलाई तत्कालै भुक्तानी दिनुपर्ने र पुनर्बहाली नभएकाहरूलाई किस्ताबन्दीमा दिनुपर्ने उल्लेख भए पनि हालसम्म कम्पनीले सम्झौतालाई कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको उनको भनाइ छ।
रिसोर्टका सीइओ दीपक लेखक र क्यासिनोका सिइओ गिरीधर टण्डन भने यस बारे बोल्नै चाहेनन्। प्रत्यक्ष भेट्न समय माग गर्दा समेत उनले इन्कार गरे।
स्थानीय राजकुलो मिचेर संरचना बनाएको रिसोर्टमाथि आरोप छ। कोरोनाकालमा कार्यरत कामदारहरूलाई विना सूचना निष्कासन गरेपछि पनि रिसोर्ट विवादमा परेको थियो। अहिले फेरि मजदुरलाई पारिश्रमिक र पुनर्बहाली नगर्दा विवादमा मुछिएको हो।
साउन २२, २०८१ मंगलबार ०९:४६:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।