बंगलादेश : हसिनाले देश छाड्नुअघि सोमबार मात्र १३५ जनाको मृत्यु

बंगलादेश : हसिनाले देश छाड्नुअघि सोमबार मात्र १३५ जनाको मृत्यु

एजेन्सी : बंगलादेशका निवर्तमान प्रधानमन्त्री शेख हसिनाले देश छाड्नुअघि सोमबार १३५ जनाको मृत्यु भएको छ।

बंगलादेशको समाचार संस्था ढाका ट्रिब्यून अनुसार सोमबार हसिनाले देश छाड्नुअघि भएको आगजनी, कुटपिट र प्रहरीले चलाएको गोली लागेर १३५ जनाको मृत्यु भएको हो।

सोमबार पुलिस र प्रदर्शनकारीबीच भएको झडपपछि राजधानीको बाहिरी क्षेत्र सावर र धामराई क्षेत्रमा कमसेकम १८ जनामा मारिएको समाचारमा उल्लेख छ।

प्रहरीले अश्रुग्यास र गोली चलाउँदा कम्तीमा ५० जना घाइते भएका थिए भने गोली लाग्नेमा कयौं पत्रकारसमेत रहेको स्थानीयले जनाएका छन्।

सोमबार दिउँसो राजधानी ढाकाको उत्तरामा सादा पोशाकमा भएका केही व्यक्तिले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका थिए।

उत्तरा इस्ट पुलिसले प्रदर्शनकारीलाई निशाना बनाएर गोली चलाउँदा प्रदर्शनकारीहरूले प्रहरी चौकीमै आगजनी गरेका थिए।

ढाकाका विभिन्न अस्पतालबाट आएको जानकारी अनुसार ७८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने त्यसबाहेक देशका अन्य क्षेत्रमा ५७ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ।

सम्बन्धित समाचार:-

साउन २१, २०८१ मंगलबार ०९:२८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।