बंगलादेशका सेना प्रमुखले विद्यार्थी आन्दोलनका संयोजकहरूलाई भेट्दै, सरकारी कार्यालय र उद्योग आजैबाट खुल्ने

बंगलादेशका सेना प्रमुखले विद्यार्थी आन्दोलनका संयोजकहरूलाई भेट्दै, सरकारी कार्यालय र उद्योग आजैबाट खुल्ने

एजेन्सी : बंगलादेशका सेना प्रमुख वाकर उज-जमानले आज आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूसँग भेट गर्दैछन्।

सेनाले मंगलबार एक विज्ञप्ति निकालेर प्रमुखले आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूसँग भेट गर्न लागेको जनाएको हो।

विद्यार्थीहरूले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठनको प्रस्ताव राखेका छन्। उता सेना प्रमुखले १८ सदस्यीय अन्तरिम सरकार गठन गर्ने बताएका छन्।

यसैबीच, बंगलादेशको अन्तर सेवा जनसम्पर्क निर्देशनालयले मंगलबार बिहानदेखि देशभरका सबै सरकारी, अर्धसरकारी, स्वायत्त, अर्धस्वायत्त, निजी संस्था र कलकारखाना खुल्ने जनाएको छ।

हसिनालाई देश छाड्न ४५ मिनेटको समय
बंगलादेशी मिडिया रिपोर्टका अनुसार बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश छोड्न मात्र ४५ मिनेट दिइएको थियो।

देश छाड्नुअघि राष्ट्रका नाममा सन्देश दिन चाहन्थे तर उनलाई त्यसो गर्न दिइएन। आइतबार दिउँसो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो। यसमा सेनाले सोमबारको मार्चलाई कडाइका साथ नरोक्ने निर्णय गरेको थियो।

सोमबार बिहानसम्म स्थिति ठीक थियो तर हजारौं विद्यार्थी गाजीपुर सीमाबाट ढाका प्रवेश गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। त्यसपछि सेनाले शेख हसिनालाई ४५ मिनेटभित्र देश छाड्न भनेको थियो।

हसिनाले राजीनामा दिएर देश छाडेसँगै हजारौं प्रदर्शनकारी एकसाथ प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। त्यहाँ उनीहरूले तोडफोड गर्नुका साथै लुटपाट समेत गरेका थिए।

सोमबार राजधानी ढाकामा ४ लाख मानिस सडकमा उत्रिएका थिए। प्रहरी र प्रदर्शनकारीबीच सोमबार भएको झडपमा ६ जनाको मृत्यु भएको छ।

आन्दोलनकारीले २ वटा राजमार्ग कब्जा गरेका थिए भने अहिलेसम्म तीन सय जनाको ज्यान गएको छ। तीमध्ये अधिकांश विद्यार्थी छन्।

साउन २१, २०८१ मंगलबार ०८:१९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।