बंगलादेश : नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न आन्दोलनरत विद्यार्थीको प्रस्ताव

बंगलादेश :  नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न आन्दोलनरत विद्यार्थीको प्रस्ताव

एजेन्सी : आरक्षणविरुद्धको आन्दोलनका संयोजकले बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठनको प्रस्ताव राखेका छन्।

मंगलबार विहान एक भिडियो सन्देश सार्वजनिक गर्दै उनीहरूले आरक्षण विरोधी आन्दोलनका संयोजक नाहिद इस्लामले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठनको प्रस्ताव राखेका हुन्।

युनुसले बंगलादेशमा ग्रामीण बैंक स्थापना गरेका थिए। उनले गरिबी विरुद्धको अभियानका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।

यसैबीच राष्ट्रपतिले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन्। उनलाई सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो।

बंगलादेशमा दुई महिना लामो आरक्षण विरोधी विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार अगस्ट ५ मा पदबाट राजीनामा दिएकी थिइन्।

त्यसपछि उनी देश छाडेर ढाकाबाट अगरतला हुँदै भारतको गाजियाबादस्थित हिन्डन एयरबेसमा साँझ ६ बजे पुगेकी थिइन्। यहाँबाट लन्डन, फिनल्याण्ड वा अन्य देशहरूमा जान सक्ने बताइएको छ।

हसिनाले देश छोडेपछि बंगलादेशका सेना प्रमुखले भनेका थिए, ‘हामी अन्तरिम सरकार बनाउँछौं, अब देशको ख्याल राख्छौं। आन्दोलनमा मारिएकाहरुलाई कानुनी कठघरामा ल्याइन्छ।’

त्यहाँको सेनाले १८ सदस्यीय अन्तरिम सरकारको प्रस्ताव गरेको छ।

यसैबीच सेना प्रमुखले आज दिउँसो आरक्षण विरोधी आन्दोलनका संयोजकहरूसँग भेट गर्ने भएका छन्।

यसैबीच बंगलादेशको अन्तर सेवा जनसम्पर्क निर्देशनालयले मंगलबार बिहानदेखि देशभरका सबै सरकारी, अर्धसरकारी, स्वायत्त, अर्धस्वायत्त, निजी संस्था र कलकारखाना खुल्ने जनाएको छ

हसिनाले राजीनामा दिएर देश छाडेसँगै हजारौं प्रदर्शनकारी एकसाथ प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। त्यहाँ उनीहरूले तोडफोड गर्नुका साथै लुटपाट समेत गरेका थिए।

सोमबार राजधानी ढाकामा ४ लाख मानिस सडकमा उत्रिएका थिए। प्रहरी र प्रदर्शनकारीबीच सोमबार भएको झडपमा ६ जनाको मृत्यु भएको छ।

आन्दोलनकारीले २ वटा राजमार्ग कब्जा गरेका थिए भने अहिलेसम्म तीन सय जनाको ज्यान गएको छ। तीमध्ये अधिकांश विद्यार्थी छन्।

साउन २१, २०८१ मंगलबार ०७:५०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।