चारवटा संसदीय समितिको बैठक बस्दै

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं : संघीय संसदका चार वटा संसदीय समितिका बैठक आज बस्दैछन्।

संघीय संसद सचिवालयका अनुसार मंगलबार राज्य व्यवस्था तथा सुशासन, कानून, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन्।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ।

बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ। यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने संघीय संसद सचिवालयले जनाएको छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ।

बैठकमा उपभोक्ता तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन लगायतका सम्बन्धमा मन्त्रालयबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ।

साउन २१, २०८१ मंगलबार ०७:२२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।