सरस्वती क्याम्पसमा चिट चोराउन आएका विद्यार्थी नेताले गार्ड कुटे, क्याम्पस प्रमुख रमिता हेरेर बसे

सरस्वती क्याम्पसमा चिट चोराउन आएका विद्यार्थी नेताले गार्ड कुटे, क्याम्पस  प्रमुख रमिता हेरेर बसे

काठमाडौं : काठमाडौंस्थित सरस्वती क्याम्पसमा चिट चोराउन पसेका अनेरास्ववियु स्थायी समिति सदस्य किङा शेर्पालाई रोक्न खोज्दा परीक्षा गार्ड भिम सुबेदीमाथि हातपात भयो।

साउन १५ मा ग्रामीण विकासको अन्तिम सेमेष्टरको परीक्षा चलिरहेको थियो। त्यहीबेला अमृत साइन्स क्याम्पस पढ्ने शेर्पा परीक्षा हलमा छिरेर परीक्षार्थीहरूलाई मोबाइल दिने अनि त्यसैबाट चिट चोराउन थालेपछि परीक्षा हलमा गार्ड बसिरहेका भिम सुबेदीले रोक्न खोजे। तर, सुबेदीले रोक्न खोजेपछि उनैलाई नेता शेर्पाले हातपात गरे।  

उकेराले प्राप्त गरेको सिसिटिभी फुटेज अनुसार शेर्पा र सुबेदीबीच भनाभन भएको देखिन्छ। विस्तारै विवाद बढ्न थालेपछि ३/४ जनासहित समूहमा रहेका शेर्पाले सिधै सुबेदीको कठालो समातेको भिडियोमा देखिन्छ। 

घटनाहुँदा क्याम्पस प्रमुख गोलमान गुरुङ त्यहीँ थिए। उनी घटना हेरेर बस्छन्। छुट्टयाउने प्रयास पनि गर्दैनन्। उनी सामान्य बोलिरहेका मात्र देखिन्छन्। त्यसपछि केही बेरमा नै शेर्पाको टोली बाहिर निस्केको देखिन्छ। 

यस विषयमा उकेराले क्याम्पस प्रमुख गुरुङलाई जिज्ञासा राख्दा ती आक्रमणकारीलाई आफूले हप्काएकै कारण अन्य घटना नभएको दाबी गरे। तर सिसिटिभीको दृष्य र उनको दाबी मिल्दैन। 

‘सरस्वती क्याम्पसले राम्रो गर्दै गइरहेको छ। यो देख्न नसकेकाहरूले आक्रमण गरेका छन्। विद्यार्थीमाथि के कारबाही हुने भन्नेबारे बैठक बसिरहेको छ। यसै हुन्छ भन्न सकिने अवस्थामा म छैन,‘ उनले भने। 

साउन २१, २०८१ मंगलबार ००:१०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।