बङ्गलादेशको बाछिटा काठमाडौँमा : दूतावास र रेहिंगा शरणार्थी शिविरमा सुरक्षा परिचालन, ठमेलमा उच्च सतर्कता

बङ्गलादेशको बाछिटा काठमाडौँमा : दूतावास र रेहिंगा शरणार्थी शिविरमा सुरक्षा परिचालन, ठमेलमा उच्च सतर्कता

काठमाडौँ : प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देशै छाडेर भागेपछि नेपालमा समेत उच्च सतर्कता अपनाइएको छ। विशेषगरि काठमाडौँका हुनसक्ने सम्भावित प्रभावहरू हेरेर सुरक्षा सतर्कता बढाइएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले बताए।

बङ्गलादेशको सत्ता पलट भन्दा पनि त्यहाँ हुनसक्ने धार्मिक हिंसालाई हेरेर प्रहरीले सुरक्षा सतर्कता बढाएको देखियो। बङ्गलादेशबाट हसिना भागे लगत्तै प्रहरीले वसुन्धरामा रहेको बङ्गलादेशको राजदूत क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ। दूतावास क्षेत्रमा सार्वजनिक चहलपहल नियन्त्रण गरेको छ।

काठमाडौँको कपन लगायतका क्षेत्रमा रेहि‌‌गा शरणार्थीहरू छन्। बङ्गलादेशमा हिन्दु-मुस्लिम समुदायबिच झडप भएको अवस्थामा त्यसको असर नेपालमा समेत पर्न सक्ने भएकाले रेहिंगा रहेका क्षेत्रमा प्रहरी परिचालन बढाइएको देखियो।

बङ्गलादेशमा आरक्षणको विरोधमा विद्यार्थी प्रदर्शन बढेसँगै इन्टर सेवा अवरुद्ध भएपछि सूचना प्रविधि क्षेत्रमा काम गर्ने बङ्गलादेशीहरू काठमाडौँ आएर विशेष गरी ठमेल क्षेत्रका होटलहरुमा बसेर काम गरिरहेका छन्। बङ्गलादेशमा पछिल्लो समय आइटीमा आउटसोर्सिङ गर्ने जनशक्ति बढेका थिए। सम्भावित सुरक्षा जोखिमका आधारमा ठमेल क्षेत्रमा समेत सुरक्षा जोखिम बढाइएको छ।

'सुरक्षा जोखिम नहुन पनि सक्छ। तर सम्भावित जोखिमको आँकलन गरेर उपत्यकामा प्रहरी परिचालन बढाएसँगै संवेदनशील जोखिम हुनसक्ने क्षेत्रमा निगरानी बढाएका छौँ' एआइजी थापाले उकेरासँग भने।

साउन २०, २०८१ सोमबार २१:१९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।