प्रचण्डलाई प्रश्न : नेपालमा पनि बंगलादेशको जस्तै स्थिति आउनसक्छ भन्छन् नि?

प्रचण्डलाई प्रश्न : नेपालमा पनि बंगलादेशको जस्तै स्थिति आउनसक्छ भन्छन् नि?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमले शासकहरूले बहुमतको आडमा जे गरे पनि हुन्छ भनेर ठान्नु दुर्भाग्यपूर्ण हुने सन्देश दिएको टिप्पणी गरेका छन्। 

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरूले पनि पाठ सिक्नुपर्ने बताए।

बंगलादेशमा विद्यार्थीहरूको आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेर भागेकी छन्। त्यसपछि त्यहाँका सेना प्रमुख जनरल वकेर–उज–जमानले अन्तरिम सरकार गठनको तयारी गरिरहेका छन्। 

भर्खरै प्रधानमन्त्रीको कुर्सीबाट बाहिरिएका प्रचण्डलाई सञ्चारकर्मीहरूले यसलाई कतिपयले नेपालमा पनि यस्तो हुनसक्छ भनेका छन् नि भन्दै प्रश्न गरेका थिए। 

जबाफमा उनले बंगलादेशको घटनाक्रमलाई राम्रोसँग अध्ययन गरिनसकेको बताए।

उनले भने, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरूले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरूले बुझ्दा राम्रो हुन्छ।’

बंगलादेशका विद्यार्थीले पछिल्लो समय गरेको कोटाविरुद्धको आन्दोलनमा ३०० जनाभन्दा बढीको मृत्यु भएको छ। आइतबारमात्रै ९९ जनाको मृत्यु भएपछि प्रधानमन्त्री हसिनाले राजीनामा गरेर सुरक्षित स्थान खोज्दै भारततर्फ उडेकी छन्।

सम्बन्धित समाचार :

 

 

साउन २०, २०८१ सोमबार २०:२८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।