रगतमा पनि भ्रष्टाचार गर्ने रेडक्रस सोसाइटीका पदाधिकारीमाथि कारबाही गर्न तोसिमाको माग

रगतमा पनि भ्रष्टाचार गर्ने रेडक्रस सोसाइटीका पदाधिकारीमाथि कारबाही गर्न तोसिमाको माग

काठमाडौँ : नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचार र ब्लड बैङ्कमा भएको अनियमितताबारे सांसद तोसिमा कार्कीले संसद्मा प्रश्न उठाएकी छिन्। रगतको गुणस्तर निकै जोखिम रहेको समाज कल्याण समितिको छानबिनमा देखिँदा पनि सम्बन्धित स्वास्थ्य तथा गृह मन्त्रालयले वास्ता नगरेको भन्दै उनले रेडक्रसको अनियमिततामा संलग्नहरूमाथि कारबाहीको माग गरिन्।

रेडक्रस सोसाइटीमा पदाधिकारीले गरेको अनियमितता र ब्लड बैङ्कमा पदाधिकारीले गरेको खेलाँचीबारे उकेराले समाचार प्रकाशित गर्दै आइरहेको छ। मानवीय संस्थामाथि भ्रष्टाचारको विषय उठाउनु पर्दा दुख लागेको भन्दै उनले रगतमाथिको भ्रष्टाचार अक्षम्य अपराध भएको बताइन्।

छानबिन समितिले महिला बालबालिका, स्वास्थ्य र गृह मन्त्रालयमा प्रतिवेदन पठाए पनि रक्त सञ्चार केन्द्रमा भएका बदमासीबारे छानबिन गर्न कुनै निकायले चासो देखाएको छैन।

भक्तपुरमा जग्गा किन्दा, भृकुटीमण्डपमा रहेको भवन निर्माणको ठेक्कामा अनियमितता भएको छानबिन प्रतिवेदनमा उल्लेख छ।

रक्त सञ्चार केन्द्रमा रगत सङ्कलनदेखि भण्डारणसम्म खेलबाड गर्दा रगतको गुणस्तरीयतामाथि प्रतिवेदनमा गम्भीर प्रश्न उठाइएको थियो।

रेडक्रस सोसाइटी अन्तर्गतका रक्त सञ्चार केन्द्रहरू नै अवैध रहेको समेत प्रतिवेदनमा उल्लेख छ। तर यसबारे न सोसाइटीले केही प्रक्रिया अगाडि बढाएको छ न त स्वास्थ्य मन्त्रालयले नै चासो देखाएको छ।

सम्बन्धित समाचार

साउन २०, २०८१ सोमबार १९:१८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।