विद्यार्थी आन्दोलनलाई आतंकवादीहरुको आन्दोलन भन्नु महँगो पर्‍यो शेख हसिनालाई

विद्यार्थी आन्दोलनलाई आतंकवादीहरुको आन्दोलन भन्नु महँगो पर्‍यो शेख हसिनालाई

एजेन्सी : आरक्षण विवादमा सुरु भएको विद्यार्थीको प्रदर्शनलाई सहज व्यवस्थापन गर्न नसक्दा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भाग्न बाध्य भइन्। उनी सोमबार बंगलादेशबाट भागेर भारत आइन्। भारतबाट पनि तेस्रो देश जाने दाबी आइरहेका छन्।

आरक्षणबारे असन्तुष्ट विद्यार्थीहरुको माग सम्बोधनको साटो दमन बढाएपछि हिंसात्मक घटना बढेका थिए। सोमबार प्रदर्शनमा मारिएकाहरूको सम्मानमा मार्चमा भेला भएका प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा पुगेपछि हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर हेलिकोप्टरमा बङ्गलादेशबाट भागेर भारत आइन्।

७६ वर्षीया शेख हसिना चढेको हेलिकप्टर भारतमा उत्रिसकेको छ। उनी भारतबाट युरोपेली देश जाने दाबीहरू आइरहेका छन्। हसिना देशबाट भागेसँगै  बङ्गलादेशमा शेख हसिनाको शासनको अन्त्य भएको छ। उनी २० वर्षदेखि बङ्गलादेशको शासनमा थिइन्।

बङ्गलादेशको आर्थिक प्रगतिको श्रेय पाउने गरेकी उनी पछिल्ला केही वर्षदेखि तानाशाह बन्दै गएको आरोप समेत लाग्ने गरेको थियो।

हसिनाको सत्ता यात्रा

१९४७ मा पूर्वी बङ्गालको एक मुस्लिम परिवारमा जन्मिएकी शेख हसिनाले राजनीति विरासतमा पाएकी हुन्। उनका बुबा राष्ट्रवादी नेता शेख मुजिबुर रहमान बङ्गलादेशका संस्थापक र राष्ट्रपिता हुन्। उनले सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र गराएर पहिलो राष्ट्रपति बनेका थिए।

त्यसबेला हसिना ढाका विश्वविद्यालयमा एक विद्यार्थी नेताको रूपमा सक्रिय थिइन्। सन् १९७५ मा बङ्गलादेशमा सैन्य कु हुँदा, मुजिबुर रहमान र उनका परिवारका धेरैजसो सदस्यहरू मारिए। विदेश यात्रामा भएकाले शेख हसिना र उनकी कान्छी बहिनीको ज्यान जोगियो।

अनि उनी भारतमा निर्वासित जीवन बिताउन थालिन्। हसिना सन्  १९८१ मा मात्र बङ्गलादेश फर्किएकी थिइन्। बङ्गलादेश फर्किएपछि उनी आफ्ना बुबाको राजनीतिक दल अवामी लीगकी नेता बनिन्।

 उनले जनरल हुसैन मुहम्मद इरशादको सैन्य शासनको विरुद्ध विरोध प्रदर्शनमा उत्रिइन्। लोकतन्त्रको माग गर्दै आन्दोलनमा उत्रिएकी उनी राष्ट्रिय आइकन समान बनिन्। उनी सन् १९९६ को निर्वाचनमा सहभागी भइन् र जितिन पनि।

उनी सन् २००१ मा बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी) की बेगम खालिदा जियासँग चुनाव हारिन्। राजनीतिक परिवारका वारिस, यी दुवै महिलाहरू तीन दशकसम्म बङ्गलादेशको राजनीतिमा हाबी रहे। यिनीहरूलाई 'ब्याटलिङ बेगम' पनि भनिन्छ।

हसिना सन् २००९ मा फेरि सत्तामा फर्किइन्। पटक-पटक भएको आक्रमणमा जोगिएकी उनी सन् २००४ मा भएको एक हमलाबाट उनको सुन्ने क्षमतामा क्षति पुगेको थियो। उनी भ्रष्टाचारका आरोपहरूमा मुछिँदै आइन्।

एक समय आर्थिक रूपमा निकै कमजोर बङ्गलादेश हसिनाको नेतृत्वमा सन् २००९ पछि आर्थिक प्रगति हासिल गरेको थियो। अहिले आर्थिक प्रगतिको मामलामा बङ्गलादेशले छिमेकी देश भारतलाई पनि उछिनेको छ। पछिल्लो एक दशकको अवधिमा बङ्गलादेशको प्रतिव्यक्ति आय तीन गुना बढेको छ।

तर विद्यार्थी आन्दोलनलाई सम्हाल्न नसक्दा उनी देश छाड्न बाध्य भइन्। विद्यार्थी आन्दोलनको माग सम्बोधनको साटो आतंकवादीहरुको आन्दोलन भन्नु महँगो पर्यो उनलाई

साउन २०, २०८१ सोमबार १८:५६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।