‘सत्यम’ र ‘मायाको माया’बाट धोका पाएका राजेश हमाललाई नयाँ फिल्मले साथ देला त!

‘सत्यम’ र ‘मायाको माया’बाट धोका पाएका राजेश हमाललाई नयाँ फिल्मले साथ देला त!

काठमाडौं : ८ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘सकुन्तला’फ्लप भएपछि अभिनेता राजेश हमाल रन्थनिए। उनको आसलाग्दो फिल्मलाई दर्शकले पत्याइदिएनन्। दर्शकले आफूलाई पत्याउन छाडेपछि उनको मन बिरक्तियो। उनले त्यतिबेला आफूलाई आएका अफर लत्याएका थिए।

मिडियाले पनि 'फ्लप फिल्मको हिरो' भनेर समाचार तथा गसिप बनाइदिएपछि झन् रन्थनिएका हमालले उदाउँदै गरेका अभिनेता दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, निश्चल बस्नेतसँग भिड्ने आँटै गरेनन्। 

थिएटरबाट उदाएका अभिनेताले हमालको अभिनयलाई फिक्का बनाइदिएपछि रन्थिनिएका उनी म्युजिक भिडियो तथा उद्घाटनका कार्यक्रममा व्यस्त भए। देश तथा विदेशका कार्यक्रममा घुमे, आफूले जानेको नाच नाचे र आफूलाई व्यस्त बनाइरहे। फिल्ममा उनले काम गर्ने सोच तत्काल नभएको भन्दै उनी विभिन्न कार्यक्रममा दौडिए। केही रियालिटी शो पनि चलाए। 

अहिले थिएटरबाट आएका कलाकारका फिल्म मत्थर हुन थालेपछि हमाल अभिनयमा जुरमुराउन थालेका छन्। उनी २ वर्षअघि फिल्म ‘सत्यम’मा काम गर्न राजी भएका थिए। उनलाई यस फिल्मका निर्देशक शंकर कार्कीको टिमले अनुबन्ध गरेको थियो। तर, फिल्म नबन्दै बनेन। 

त्यसपछि उनी अर्को फिल्म ‘मायाको माया’मा अनुबन्ध भए। यो पनि निर्माण हुने हल्लामै सीमित भएपछि दिक्क भएका हमाललाई उठाउन प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मायावी’का निर्देशक दीवाकर भट्टराईले आफ्नो नयाँ फिल्ममा अनुबन्ध गरेका छन्। फिल्मको नाम अभिनेता राजेश हमाल र निर्देशक भट्टराईले नै गुपचुप राखेका छन्। 

अनटाइटल फिल्ममा अनुबन्ध भएका हमालले सामाजिक सञ्जालमार्फत नै आफूले फिल्म खेल्न लागेको जानकारी दिए। 

निर्देशक भट्टराईले पनि फिल्ममा अभिनेता हमाललाई अनुबन्ध गरेको घोषणा गरेका छन्। 

भदौबाट फ्लोरमा जाने भनिएको यो फिल्ममा एक्सन जनराको बन्ने छ। तर, छायांकनमै ननिस्किएसम्म उनको फिल्म बन्छ नै भन्ने वारेन्टी तथा ग्यारेन्टी केही छैन। किनभने यसअघि अनुबन्ध भएको फिल्म ‘सत्यम्’र ‘मायाको माया’पनि त्यसै भनिएको थियो। 

नेपालमा फिल्म फ्लरमा नगएसम्म कसरी पत्याउनु र !

साउन २१, २०८१ सोमबार १८:३८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।