प्रधानमन्त्री हसिनाले देश छोडेर भागेपछि अन्तरिम सरकारको तयारीमा सेना

प्रधानमन्त्री हसिनाले देश छोडेर भागेपछि अन्तरिम सरकारको तयारीमा सेना

एजेन्सी : बंगलादेशकी प्रधानमन्त्री शेह हसिना पदबाट राजीनामा गरेर सोमबार देश छाडेपछि देश अब अन्तरिम सरकारले चलाउने भएको छ। 

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले अन्तरिम सरकार गठनको तयारी गरिरहेको बताए। 

सम्बोधन गर्नुअघि उनले बंगलादेशको प्रतिपक्षी दल  बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लगायत प्रमुख राजनीतिक दलहरूसँग वार्ता गरेका थिए।

उनले अब राष्ट्रपतिलाई भेट्ने तयारी गरेको बताए।

उनले पछिल्ला हत्याबारे छानबिन गरिने पनि बताएका छन्। 

'हामी विगत केही हप्तामा भएका सबै हत्याको छानबिन गर्नेछौँ,' उनले भने।

बंगलादेशका विद्यार्थीले पछिल्लो समय गरेको कोटाविरुद्धको आन्दोलनमा ३०० जनाभन्दा बढीको मृत्यु भएको छ। आइतबारमात्रै ९९ जनाको मृत्यु भएको थियो। 

'प्रदर्शनका क्रममा भएका हरेक मृत्यु र अपराधका लागि न्याय सुनिश्चित गर्ने कुरा पनि सुनिश्चित गर्नेछौँ,' उनले भने। 

उनले प्रदर्शनकारीहरूलाई संयमता अपनाउन र हिंसा तथा तोडफोडका काम नगर्न आह्वान गरेका छन्। 

यसअघि प्रधानमन्त्री हसिनाले राजीनामा गरेर सुरक्षित स्थान खोज्दै भारततर्फ उडेकी छन्।  

साउन २०, २०८१ सोमबार १७:०८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।