बंगलादेशको प्रधानमन्त्रीबाट शेख हसिनाको राजीनामा, सेनाले साथ नदिएपछि देश छाडेर भारत उडिन्

बंगलादेशको प्रधानमन्त्रीबाट शेख हसिनाको राजीनामा, सेनाले साथ नदिएपछि देश छाडेर भारत उडिन्

एजेन्सी : राजधानी ढाकामा विद्यार्थी आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन्।

राजीनामासँगै उनले देश छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनले आफू बस्ने दरबार छोडेको बताइएको छ। 

बीबीसीले हसिना भारततर्फ गएको लेखेको छ। उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ।

प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन्।

सेनाले समर्थन नगरेका कारण हसिना भागेको पाइएको छ। त्यहाँका सेनापतिले जनताको भावना विपरीत नजाने गएको शनिबार मात्रै बताएको थियो।

बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन्। त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी समेत छ।

आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ। प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा आइतबार मात्रै कम्तीमा ९० जना मारिएको र सयौं घाइते भएको बीबीसीले जनाएको छ। 

प्रधानमन्त्री हसिनाले सुरक्षा निकायका प्रमुखहरुसँग छलफलपछि आइतबार हसिनाले आन्दोलनकारीहरु ‘विद्यार्थी नभई देशमा अस्थिरता चाहने आतंकवादी भएको’ बताएको प्रतिक्रिया दिएकी थिइन्।

आइतबारको घटनापछि बंगलादेशमा कर्फयु लागेको छ भने तीन दिन सार्वजनिक विदा दिइएको छ। इन्टरनेट पनि बन्द गरिएको छ। 

साउन २०, २०८१ सोमबार १६:५४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।