मलेसियाबाट फर्किएपछि देशमै टमाटर फलाइरहेका दिनेशको सरकारसँग गुनासै-गुनासो!
उमेरले ३३ बर्ष टेकेका दिनेशप्रसाद अधिकारी भक्तपुरको चाँगुनारायण नगरपालिका ३ मा डाइमण्ड कृषि फर्म सञ्चालन गरिरहेका छन्। उनले जीवनमा मजदुरीकै लागि भारत अनि साढे ६ बर्ष मलेसियामा पनि बिताए। तर, उनलाई विदेशी भूमिमै काम गरेर जिन्दगी धान्न सकिन्छ जस्तो लागेन। अनि नेपाल फर्किए। पछि गाउँकै साथीको सल्लाहमा २०७९ सालमा ५ रोपनी जग्गा लिएर टमाटर फलाइरहेका छन्।
जुम्ला जस्तो विकट क्षेत्रमा जन्मेका उनले भारतमा लुगा बेच्ने कामसमेत गरे। पढाइले एसएलसीसम्म पास भएका उनले त्यो भन्दा पढ्न पाएनन्, घरको परिस्थितिले। भारतमा लुगा बेच्ने र आएको पैसाले आफूलाई खान-लगाउन र केही रूपैयाँ घर पठाउनबाहेक पैसा जम्मा गर्न नसकेपछि हो, उनी मलेसिया जान बाध्य भएका।
‘विवाह गरें, परिवार मुख बढेपछि खुवाउनै पर्याे,’ छोरातिर देखाउँदै भने ‘यो छोरा ३ महिनाको थियो म मलेसिया जाँदा, यिनीहरूकै भविष्यको लागि विदेशिए।’
परिवारमा ५ जना रहेकोमा एक छोरा, एक छोरी श्रीमती अनि आमालाई दिनेश नै हेर्दै आएका छन्। दिनेश अनि उनका छोरा भक्तपुरमा बस्छन् भने श्रीमती, आमा र छोरीलाई कोहलपुरमा राखेका छन्।
000
‘१२ बर्षको उमेर बाबु बिते, १४ बर्षको उमेरमा लुगा बेच्न भारत गएँ’
कान्छो छोरा भएपनि २०५९ पछि दिनेशले घरको सबै जिम्मेवारी बहन गर्नुपर्ने भयो। किनकी त्यसवर्ष उनका बुवाको मृत्यु भयो। अनि त दिनेशले राम्रोसँग पढ्नसमेत पाएनन्। उनी कक्षा ५ मा हुँदा बुवाको मृत्यु भयो। त्यसपछि भारत गएर कमाउने अनि नेपाल आएर परीक्षा दिने गर्दै भएपनि उनले एसएलसीसम्मको अध्ययन गरे। त्यहाँदेखि घरको जिम्मेवारीले थिचिएका उनको पढाइमा पूर्णविराम लाग्यो।
‘बुवा भएको भए सायद अझै पढ्न पाउँथे होला। तर पनि काम गर्दै पढें। रेगुलर त होइन, बीचमा ग्याप गरेर एसएलसीसम्म पास गरें,’ उनले सम्झिए।
दिनेशले लुगा बेच्ने देखी सडक खन्नेसम्मको काम गरे। १४ बर्षको हुँदा दिनेश आफ्नै दाजुसँग भारतको विभिन्न सहरमा लुगा बेच्न गए। लामो समय उनले त्यही पेशा गरे।
‘इन्डिया गएपछि सुरूमा मेरो पहिलो यात्रा गोरखपुरमा थियो। कपडाहरू बेचिन्थ्यो। २ बर्ष जति त्यहाँ बसेपछि कुल्लुमनाली तिर गएँ। त्यहाँ पनि गलैँचा फाइवरको सिरक बेचियो। त्यसपछि किनर्वा पनि पुगे,’ उनले सुनाए।
मलेसियामा भागेर काम गर्नुको बाध्यता
दिनेशले विवाह गरेपछि घर परिवारमा जहान थपियो। आर्थिक अवस्था नाजुक थियो। साथीभाइहरू विदेश जान थालेपछि उनलाई पनि विदेश जान मन लाग्यो। भविष्यमा आउने पुस्तालाई आर्थिक संकट नपरोस् र खान लाउन गाह्रो नहोस् भनेर नै उनी विदेशिएका थिए। २०७० सालमै मेनपावर कम्पनीलाई १ लाख ९० हजार बुझाएर उनी मलेसिया उडे।
‘२०७० सालको साउनमा गएको मलेसिया गएको। साढे ६ बर्ष त्यहाँ बसें। यहाँबाट मेनिफ्याक्चरिङ्गमा भनेर गएको। एग्रोभेटमा १० घण्टाको १२ सय रिगेटको एग्रिमेन्ट थियो। त्यहाँ गएपछि १२ घण्टाको ९ सय रिगेट दियो,’ उनले दुखेसो सुनाए।
नेपालमा भनिएजस्तो काम नपाएपछि उनले त्यस कम्पनीमा ८ महिनाजति काम गरे। नेपाली मेनपावर कम्पनीले सम्झौता गरेरै पठाएको थियो तर, सम्झौता अनुसारको पैसा दिएनछन्। मलेसिया पुगेपछि त्यहाँको कम्पनीले 'हामीले यही पैसामा तिमीहरूलाई ल्याएको हो' भनेपछि बल्ल दिनेशलाई आफू ठगिएको महसुस भएछ।
अरू साथीहरू काम गर्न नसक्ने भन्दै स्वदेश फर्किए। दिनेशलाई घर फर्किन मन लागेन, परिवारको अवस्था सम्झेर। बरू उतै अरू कम्पनीमा काम गर्ने योजना बुने र गाउँकै साथीलाई भनेर अर्कै कम्पनीमा भागेर काम गर्न थाले।
‘सम्पूर्ण कागजपत्र कम्पनीले खोसेर राखेको थियो। मैले नेपालमा रहेका मेनपावर कम्पनीलाईसमेत कैयौँ पटक फोन गरें तर, उठाएन। पछि ८ महिना काम गरें। अलि विश्वासमा पारेपछि साथीलाई भनेर भागें,’ उनले भने।
मलेसिया जाँदा २ लाख ५० हजार रूपैँया ऋण लिएर गएका थिए दिनेश। तर पनि काम गतिलो नभएपछि उनीलाई भाग्नुपर्ने बाध्यता आइलाग्यो।
‘त्यतिबेला नेपाली २९ हजार थियो जम्माजम्मी। खाना खाएर १५ देखी १६ हजार बच्थ्यो महिनामा। २ लाखको ब्याज नै तिर्नुपर्थ्यो, सयकडा ३ को दरले। अनि ९ हजार बाँकी रहन्थ्यो, त्यसले के गर्ने! अनि त्यो कम्पनी छोडेर सेकुरेटी गार्डमा ५ बर्ष ४ महिना लुकेरै काम गरें,’ उनले सुनाए।
भागेर काम गरेपछि उनको कमाई नेपाली ४० हजार हाराहारीको भयो। अनि पो उनले राहतको सास फेरे। तर, पछिपछि त्यो कम्पनीमा पनि उनलाई सजिलो चै थिएन। बेलाबेला अध्यागमनले छापा मार्ने भएकोले उनको छुट्थ्यो।
‘चाईनिज थियो साहु, सहयोगी खालको। मलेसियाका पुलिसहरू बेलाबेला छापा मार्न आउँथ्यो। अनि लुक्न भन्थ्यो साहुले। त्यो बेला समातेको भए, नेपाल आउनु पर्थ्यो झन ऋणको बोझ थपिन्थ्यो,’ उनले सुनाए।
उनी विदेश जानुअघि पनि सरकारको एउटा योजना सुनेका थिए- फ्रि भिसा, फ्रि टिकट। तर, उनलाई सरकारको यो नारा मनै परेन। सरकारले देशमै रोजगारी दिएको भए आफूले दुख पाइन्थेन कि भन्ने लाग्छ उनलाई।
‘त्यो बेला यहाँ फ्रि भिसा, फ्रि टिकट भन्थे। अस्ति मलेसिया जान कति लाग्छ भनेर सोधेको पनि २ लाख ५० हजार लाग्ने भन्यो, यस्तो छ देशको हालत। कम्तीमा रोजगारी दिनु, होइन भने किसानी गरेकालाई सेवा सुविधा दिनु। किसानको सामानको मूल्य तोकिदिनु, त्यो पनि छैन। मलाई त नालायक जस्तो लाग्छ नेपाल सरकार,’ उनले सरकारप्रति रिस पोखे।
नेपालमा आएपछि...
नेपाल आउँदा थोरै पैसा थियो उनीसँग। त्यो पैसा पनि फेरि विदेश जानकै लागि भनेर जोरजम्मा गरेर ल्याएका थिए तर यहाँ आएपछि उनको मन फेरियो। गाउँकै एकजना साथीले काठमाडौँमा कृषि गर्याे भने बजार राम्रो छ भनेपछि उनले कृषिमै होमिने विचार बनाए। सानैदेखिको अनुभवलाई आफ्नै देशमा प्रयोग गर्ने सोचे। तर, लगानी थिएन।
जुम्लामा भएको भए उनको आफ्नै खेत थियो। तर, जुम्लामा बजार थिएन। सामानको मूल्य थिएन। त्यसैले उनले भक्तपुरमा ५ रोपनी जग्गा लिजमा लिएर टमाटर लगाए। सुरुवाती लगानी १५ लाखको हाराहारीमा लागेको दिनेश बताउँछन्।
‘मैले जानेकै कृषि थियो। सानुमा गरेको पेशा थियो नि त। यसकै लागि सुरूमा १५ लाख ऋण लिएर थालेको। अहिलेसम्म त तिरिसके,’ उनी खुसी देखिए।
दिनेशलाई सरकारले अनुदान दिन्छ भन्ने पनि थाहा छ। तर, सरकारको अनुदानको भर छैन। किनभने सरकारले किसानले उब्जनी गरेको सामानको त बजार व्यवस्थापन गर्न सकेको छैन अनि असली कृषकलाई अनुदान दिन्छ भन्नेमा कसरी विश्वास गर्नु!
‘सरकारले अनुदान दिन्छ रे भन्ने सुनेको हो। तर, हामीजस्तालाई के देला र? ठूलाबडाले पाउने हो। मलाई त आस पनि छैन। बरू हामी कृषकले उत्पादन गरेको सामानको सहि मूल्य निर्धारण गरिदिएमात्रै हुन्छ। तर, के गर्नु विचौलियाले मूल्य निर्धारण गर्छ। हेर्नु न आज टमाटरको मूल्य कति छ कालिमाटी तरकारी बजारको साइडमा,’ उनले बजारको वेबसाइट देखाए।
मलेसियामा प्रत्यक्ष नेपाली कामदारको अवस्था देखेका दिनेशले विदेशमा भन्दा नेपालमै सम्भावना भएको सुनाए।
‘मैले भारतमा काम गरें, मलेसियामा काम गरें। भन्न त मिल्दैन होला तर, कुकुरको जुनी छ त्यहाँ। मैले त भोगेको छु नि त्यसैले भनेको। होला भारतमा व्यवस्थित गरी बस्ने पनि छन्। तर, ज्याला-मजदुरी गर्नेको हालत मैले अघि भनेको जस्तै छ,’ उनले अनुभव साटे।
साउन २१, २०८१ सोमबार १६:१४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।